नेपालका विद्यालयमा एनआरएनए चीनको ‘महिनावारी स्वच्छता सचेतना अभियान’

डिसी नेपाल
२१ साउन २०७९ २१:३५

दोलखा । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीन ‘महिनावारी स्वच्छता सचेतना अभियान’ सञ्चालनमा जुटेको छ। संघले नेपालका ग्रामिण क्षेत्रका विद्यालयहरुमा महिनावारी स्वच्छतासम्बन्धी कार्यक्रममा तीव्रता दिएको छ।

संघले शुक्रबार मात्रै दोलखाको वैतेश्वर उच्च माध्यामिक विद्यालयमा महिनावारी स्वच्छतासम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो।

सो कार्यक्रममा हनुमन्तेश्वर मावि र नजिकैको जलदेवि माविमा अध्ययनरत झण्डै १ हजार विद्यार्थीको सहभागिता थियो। संघको डाक्टरसहितको टोलिले विद्यालयमा अध्ययनरत किशोर–किशोरी तथा शिक्षिकाहरुलाई महिनावारीमा गर्नुपर्ने सरसफाई र स्वच्छताको बारेमा प्रशिक्षण दिएका थिए।

महिनामारी के–हो ? महिनामारी हुँदा सरसफाइ कसरी गर्ने ? महिनामारी हुँदा सरसफाईमा ध्यान नपुर्‍याउँदा हुने जोखिम, महिनामारीका बेला शरीरमा हुने गढबढी, किशोर अवस्थामा हुने परिवर्तनलगायतका विषयमा विषयमा भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा. सरु श्रेष्ठ र गण्डकी अस्पतालको डा. बीना लामाले प्रकाश पारेका थिए।

कार्यक्रममा महिनावारीका विषयमा बोल्ने र घरपरिवारमा छलफल गर्ने वातावरण कसरी गर्ने भन्ने विषयमा बहस समेत भएको थियो। महिनामारीको बेलामा विद्यालयले खेल्ने भूमिका, परिवारको दायित्व विषयमा पनि छलफल भएको थियो।

डा. श्रेष्ठ र लामाले विद्यार्थीसँग अन्तरक्रिया समेत गरेका थिए। किशोरीहरुले पहिलो पटक महिनामारी हुनेबेलाको अनुभव, महिनामारीका बेला देखापर्ने समस्या, परिवारले गरेको व्यवहारलगायतका विषयमा खुलेर बोलेका थिए।

महिनावारीको समयमा गनुपर्ने सरसफाई तथा खानपानको विषयमा डा. लामाले चर्चा गरेकी थिइन्। डा. श्रेष्ठले महिलाहरुमा हुने रजस्वला सम्बधित सचेतना पुरुषलाई समेत दिन जरुरी रहेको बताइन्। महिनावारी हुदाँ छात्राहरु विद्यालयमै नआउने गरेको त्यस्ता कार्यक्रमले त्यसलाई रोक्न टेवा पुग्ने डा. श्रेष्ठको भनाइ थियो।

संघले ‘महिनावारी स्वास्थ्य सुरक्षा हाम्रो सरोकार’ भन्ने मुल नारासहित यो अभियानको थालनी गरेको कार्यक्रम संयोजक पुन्यवती सुवेदी (सहनशीला) को भनाइ छ। महिनावारी जस्तो संवेदनशील विषयमा सचेता जगाउनु सबैको दायित्व भएको उनको भनाइ छ।

एनआरएनए चीनका अध्यक्ष रोहित अग्रवालले गाउँका विद्यालयहरुमा आफूहरुले यस्ता किमिसका कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताए। आगामी दिनमा दोलखाका अन्य स्कुल तथा पहाडी जिल्लाका कार्यक्रम गरिने उनले बताए।

‘यस्ता किसिमका कार्यक्रमले राम्रो म्यासेज जान्छ। त्यसैले स्कुलबाटै हामिले सञ्चालन गरिरहेका हौं। स्कुलस्तरमा गरिने कार्यक्रमले सिंगो समाजलाई नै अग्रवालले प्रभावकारी बनाउँछ,’ उनले भने।

कार्यक्रममा जिल्लास्तरका प्रमुखहरुको सहभागिता थियो। कार्यक्रमको अतिथिमा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा थिए।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारीले एनआरएनए चीनले सञ्चालन गरेको महिनावारी सम्बन्धि कार्यक्रम निकै उपलब्धिमुलक भएको बताए। यस्ता किसिमका कार्यक्रमले विद्यालय तथा अभिभावकहरुको दायित्व बढाउने उनको भनाइ थियो।

यस्तै विशेष अतिथिहरुमा जिल्ला समन्वय अधिकारी होमप्रसाद घिमिरे, दोलखा जिल्ला प्रहरी प्रमुख गंगाप्रसाद पौडेल, बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती विशेष अतिथि थिए।

यसैगरी नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईं, वैतेश्वर ५ वडा अध्यक्ष भुवन घिमिरे, बैतश्वर वडा ४ अध्यक्ष कुमार प्रसाद चौलागाईं, हुनमन्तेश्वरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम प्रसाद दहाल, हुनमन्तेश्वर क्यापसका प्रमुख कमल दाहाल, हुनमन्तेश्वर माविका प्रध्यानध्यापक भरत दाहाल, जलदेवी माविका प्रध्यानध्यापक गिताकृष्ण शर्मा, वैतेश्वर गाउँपालिकाका स्वास्थ्य प्रमुख बाबुलाल लामालगायत अतिथिहरु सहभागि थिए।

 

कार्यक्रममा बोल्दै जिल्लाका अतिथिहरुले जिल्लाका सबै विद्यालयहरुमा महिनावारी हुँदा प्रयोग गरिने ‘स्यानीटरी प्याड’ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । संघले दुवै विद्यालयमा गरेर ४ हजारभन्दा बढी प्याकेट ‘स्यानीटरी प्याड’ समेत वितरण गरेको थियो।

कार्यक्रममा अध्यक्ष अग्रवाल, कार्यक्रम संयोजक सुवेदीसहित उपाध्यक्ष निर्मल चौलागाई, सल्लाहाकार आरके खड्का, सदस्यद्धय युवराज थापा र दिपक अग्रवालको उपस्थित थिए। कार्यक्रमको सञ्चालन संयोजक सुवेदीले गरेकी थिइन्।

संघले यसअघि यस्तै किसिमको कार्यक्रम पहिलो चरणमा काठमाडौं तारकेश्वरस्थित जितपुर उच्च माध्यमिक विद्यालयमा सम्पन्न गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *