कांग्रेस प्रवक्ता डा.महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण

डिसी नेपाल
२७ साउन २०७९ १६:४२
20
Shares

काठमाडौं।नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्।यही साउन २४ गते रातिको भीषण वर्षाले तादी खोलामा आएको बाढीले नुवाकोट क्षेत्र नं १ का कतिपय स्थानमा क्षति पुर्‍याएको छ ।

नुवाकोटको दुप्चेश्वर–३ राउतबेंसी, तादी– ४ सातबिसे र पञ्चकन्या– ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या– २ आप्र र तादी– ५ बाहुनबेंसी जोड्ने पक्की पुल, पञ्चकन्या– १ को सिमारा फाँट र लिखु– ३ सूर्यमति र १ ढिकुरे जोड्ने पक्की पुल बाढीका कारण क्षतिग्रस्त भएका छन् ।

पञ्चकन्या र तादी जोड्ने पुलको क्षति अवलोकन गरेपछि प्रवक्ता डा.महतले सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन पुनः सञ्चालनमा ल्याउन र बाढी पहिरो प्रभावित क्षेत्रका लागि थप बजेट उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

आफ्नो गृह जिल्लाका प्राकृतिक प्रकोप पीडितलाई भेट्न पुगेका पूर्वमन्त्री डा.महतले बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको अनुगमनपछि आवागमन सहज बनाउन जतिसक्दो छिटो यसको पुनर्निर्माण गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनले पहिरोबाट अधिक प्रभावित राउतबेँसीको निरीक्षण भ्रमणपछि प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपद्बबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाको पुनर्निर्माणका लागि शीघ्र कदम चाल्न सरकारसँग माग गरेका छन् ।

प्रवक्ता महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाका हकमा प्रदेश सरकार र सङ्घीय सरकारसँग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.