नदीको बाँध भत्किन लागेपछि १८ गाउँ खाली गराइयो, सेना-एयरफोर्स तयारी अवस्थामा

डिसी नेपाल
२८ साउन २०७९ ११:५४
1.1k
Shares

काठमाडौं । मध्यप्रदेशको धार जिल्लाको करम नदी (नर्मदाको सहायक नदी) मा निर्माण भइरहेको कोथेरा बाँधबाट पानीको चुहावट बढ्दै गएपछि त्रास फैलिएको छ । अब यो पानीले भरिएको बाँध फुट्ने खतरा बढेको छ ।

यसैलाई ध्यानमा राख्दै प्रशासनले सावधानीका रूपमा बाँधको तल्लो क्षेत्रमा रहेका १८ गाउँलाई खाली गरी सुरक्षित स्थानमा निर्माण गरिएका राहत शिविरमा पठाएको छ । अर्कोतर्फ प्रशासन र जलस्रोत विभागले चुहावट रोक्न कारबाही थालेको छ । साथै दुई वटा हेलिकप्टर र सेना तयार राखिएको छ ।

यो बाँध धार जिल्लाको धर्मपुरी तहसीलमा करम मध्यम सिँचाइ आयोजनाअन्तर्गत निर्माण भइरहेको छ । तर विगत केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण यो निर्माणाधीन बाँध भरिन थालेपछि चुहावट र माटोको कटान सुरु भएको छ ।

राज्य गृह विभागका अतिरिक्त मुख्य सचिव राजेश राजौराले शुक्रबार बिहान बाँधको ‘डाउन स्ट्रिम’ को माटो चिप्लिएर खतराको अवस्था सिर्जना भएको बताए । यस बाँधको लम्बाइ ५९० मिटर र उचाई ५२ मिटर रहेको छ । योसँगै यस बाँधमा १५ करोड घनमिटर (एमसीएम) पानी भरिएको छ ।

राजौराले बाँध फुट्ने खतरालाई मध्यनजर गर्दै धार जिल्लाका १२ गाउँ र खरगोन जिल्लाका ६ गाउँ अर्थात् कूल १८ गाउँ खाली गरी मानिसहरूलाई सुरक्षित स्थानमा राहत शिविरमा पठाइएको बताए ।

यसै क्रममा राष्ट्रिय विपद् व्यवस्थापन बलको टोली, राज्य विपद् प्रतिक्रिया बल धार र इन्दौरको टोली र छिमेकी प्रहरी थानाको प्रहरी होमगार्डका कर्मचारीसँगै उद्धार कार्यमा संलग्न छन्। यसका साथै आवश्यक परे तुरुन्त पठाउन सकिने गरी वायुसेनाको २ र सेनाको एक कम्पनीको हेलिकप्टर तयार राखिएको छ ।

यो बाँध पहिलो पटक पानीले भरिएको जिल्ला कलेक्टर डा पंकज जैनले बताए । बिहीबार दिउँसो एक बजे बाँधबाट पानी चुहिएको जानकारी प्राप्त भएको थियो । त्यसपछि जलस्रोत विभागका अधिकारीलाई बोलाएर यो चुहावट रोक्न प्रयास थालिएको थियो । तर, शुक्रबार बिहानैदेखि यस बाँधबाट पानीको चुहावट बढेको छ । हामी सबै सम्भावित उपायहरू लिइरहेका छौं र स्थितिलाई नजिकबाट निगरानी गरिरहेका छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *