बेलायतको भावी प्रधानमन्त्रीको घोषणा केहीबेरमा

डिसी नेपाल
२० भदौ २०७९ १३:४४
260
Shares

काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया पूरा भएको छ र आज विजेताको नाम घोषणा गरिने भएको छ । भारतीय मूलका ऋषि सुनक र लिज ट्रसबीचको प्रतिस्पर्धा थियो । लिज ट्रसको जित लगभग निश्चित भइसकेको विज्ञहरू बताउँछन् ।

समाचार एजेन्सी एएफपीका अनुसार आज अपराह्न नेपाली समयअनुसार ४.४५ बजे नतिजा घोषणा हुनेछ । यदि लिज ट्रसले चुनाव जितिन् भने उनी थेरेसा मे र मार्गरेट थ्याचरपछि बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुनेछिन् ।

बेलायतमा कन्जरभेटिभ पार्टीको सरकार छ । तर पार्टीका धेरै वरिष्ठ मन्त्रीहरूले राजीनामा दिएपछि पार्टी नेता तथा प्रधानमन्त्री बोरिस जोनसनले राजीनामाको घोषणा गरेका थिए।

उनको घोषणापछि पार्टीले नयाँ नेतृत्व चयन गरिरहेको छ । बेलायती संसदमा बहुमत प्राप्त गर्ने दलको नेता प्रधानमन्त्री बन्छ । त्यसैले पार्टीभित्र हुने चुनावमा जो जित्छ उ बेलायतको अर्को प्रधानमन्त्री बन्नेछ ।

पछिल्लो डेढ महिनादेखि चलिरहेको निर्वाचन प्रक्रियामा कैयौँ चरणको मतदान भएको छ, जसमा लिज ट्रस अगाडि छिन् । आठ सातापछि हुलाक र अनलाइन भोटिङ शुक्रबार रोकिएको छ ।

बीबीसीलाई दिएको अन्तर्वार्तामा लिज ट्रसले निर्वाचित हुने प्रक्रियालाई आफ्नो करियरको ‘सबैभन्दा लामो जागिरको अन्तर्वार्ता’ भनेकी छिन् ।

बोरिस जोनसनले आफ्नो सरकार विरुद्ध विभिन्न आरोप लागेपछि राजीनामा दिएका थिए । मंगलबार, बोरिस जोनसनले आफ्नो विदाई भाषण दिनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *