डा. पुकारचन्द्र श्रेष्ठविरुद्ध महिला चिकित्सकले दिइन् मेडिकल काउन्सिलमा उजुरी
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठविरुद्ध एक महिला चिकित्सकले गाली बेइज्जती र दुर्व्यवहारसम्बन्धी उजुरी दिएकी छन् ।
केन्द्रकै स्थायी विशेषज्ञ महिलाले चिकित्सकले निर्देशक श्रेष्ठविरुद्ध प्रहरी, मेडिकल काउन्सिलसहितका सरोकारवाला निकायमा उजुरी दिएकी हुन् ।
निर्देशक श्रेष्ठले आफूलाई देख्दा उत्तेजित हुनेसम्मको शब्दको प्रयोग गरेको, शल्यक्रिया गरिरहँदा शल्यक्रिया कक्षबाट विनाकारण आफूलाई अपमानित गरेर निकालेको महिला चिकित्सकको उजुरीमा उल्लेख छ ।
नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय प्रत्यारोपण केन्द्र बोर्ड, महानगरीय प्रहरी वृत्त भक्तपुरको महिला सेल र नेपाल चिकित्सक संघमा उजुरी दिएकी महिला चिकित्सकले उजुरीमा उल्लेख गरेकी छन्, ‘स्पतालको निर्देशक जस्तो गरिमामय पदमा आसिन व्यक्तिले आफ्नै कर्मचारीलाई देख्दा उत्तेजित हुन्छ भने त्यो कर्मचारी कसरी सुरक्षित काम गर्न सक्छ होला ?’
महिला चिकित्सकको उजुरी
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थायी नियुक्तिका लागि खोलिएको विज्ञापनमा तोकिएको आवश्यक मापदण्ड पुरा गरी लिखित तथा अन्तवार्ता मार्फत छनौट भई स्थायी नियुक्ति प्राप्त गरेर विशेषज्ञ स्वाथ्य सेवा प्रवाहमा निरन्तर खटिरहेको व्यहोरा अवगत गराउँदछु। आफ्नो क्षमता, योग्यता र ईमान्दारीपूर्वक विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गरिरहेको एक महिला चिकित्सकमाथी हाल कार्यकारी निर्देशकको रूपमा रहनु भएका डा पुकारचन्द्र श्रेष्ठज्यूबाट अस्वाभाविक, अमर्यादित एवं लज्जास्पद अभिव्यक्ति दिई मान मर्दन गर्ने, मेरो क्षमता, योग्यता र दक्षतामाथी गम्भीर प्रश्न चिन्ह खडा गर्ने, शल्यक्रियाको अवस्थामा होस् वा उहाँसँगको जम्का भेट भएको अवस्थामा होस् अपमानजनक व्यवहार गरेर मलाई हत्तोत्साही गराउने, चरित्र हत्या गर्ने तथा सार्वजनिक रूपमा माली, बेईज्जती गरिहरेको हुनाले म मानसिक रूपमा भयभित रहेको व्यहोरा श्रीमान्ज्यूलाई अवगत गराउँदछु। एकजना महिला चिकित्सकलाई बिना कुनै कारण यो वा त्यो बाहनामा चरित्र हत्या गर्ने, निरुत्साहित बनाउने तथा मैले गरेको काममा अनावश्यक रूपमा हस्तक्षेप गरी मेरो क्षमता, कला र दक्षतामाथी समेत गम्भीर रूपमा आरोप लगाई मलाई निरन्तर रूपमा मानसिक तनाव सिर्जना गरिएको छ। यस्ता प्रकारका अस्वाभाविक र अमानवीय व्यवहारले मेरो दैनिक गतिविधिलाई समेत बाधा उत्पन्न गरेको छ।
मैले सो केन्द्रको स्थायी पदपूर्तिका लागि निवेदन दिएपछि उहाँले मलाई निरन्तर रूपमा निरुत्साहित गर्ने, दुई चार जना अस्पतालमा कार्यरत कर्मचारीहरूको सामुन्ने मलाई गाली गर्ने, तिम्रो काम छैन भन्ने, तिमिलाई मैले देख्न नपरोस् भन्ने जस्ता अत्यन्तै गैर जिम्मेवार र अमानवीय शब्दहरू प्रयोग गरी मलाई असोचनीय दबाब दिईरहनु भएको छ।
यस्ता कतिपय घटनाक्रमहरूलाई मैले सामान्य रूपमा ग्रहण गर्दै बेवास्ता गर्दै आईरहेको थिएँ। किनकी म भन्दा बरिष्ठ, एक जिम्मेवार पदमा बसेको व्यक्तिले कहिलेकाँही अस्वाभाविक व्यवहार देखाउन खोज्नु भएको होला भनी कुनै गुनासो व्यक्त गरेको थिइन। धेरै अस्वाभाविक र असहिष्णु व्यवहारहरू मध्ये गत महिनाको एक दिन शल्यक्रिया कक्षमा शल्यक्रिया गरिरहेको अवस्थामा उहाँ आई मलाई तिमी हट, म गर्छ भन्नु भयो। त्यसपछि म कनै वादविवाद नगरी पछाडी हटे तर त्यो समयमा बिरामीको अत्याधिक रक्तश्राव भईरहेकोले मैले उहाँलाई रक्तश्राव रोक्नका लागि उपयुक्त हुने सल्लाह दिएकी थिएँ। त्यो समयमा शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीहरूको माझ मलाई “तिमीले सिकाउनु पर्दैन, मैले तिमी भन्दा धेरै शल्यक्रिया गरेको छु भन्नु भयो। त्यस पश्चात् मैले हजुरलाई सिकाउन खोजेको नभई बिरामीको अत्याधिक रक्तश्राव भईरहेकोले त्यसलाई केबल रोक्ने उपायबारे सल्लाह मात्र दिएको भन्दैगर्दा मलाई ‘तिमि शल्यक्रियाकक्षबाट बाहिर गईहाल। “Don’tArgue with me, Get out” भनी मलाई अपमानित गर्नु भयो। सो पश्चात् म शल्यक्रिया कक्षबाट अत्यन्तै भावुक र बोझिलो मनका साथ कुनै प्रतिवाद नगरी बाहिर निस्किएँ। सो दिनदेखि मेरो मनमा अनेकौ आशंकाहरू उब्जन थाले। मैले यतिका बर्षसम्म स्वास्थ्य सेवा प्रवाहमा विशेषज्ञ सेवा दिईरहेको अवस्थामा मलाई बिना कुनै कारण शल्यक्रिया कक्षबाट बाहिर निकालिनु, सम्पूर्ण स्वास्थ्यकर्मीहरूकाबीच अपमान गर्नु, अपशब्दहरू बोल्दै लज्जित बनाउनु, उहाँले मप्रति तीन निरन्तर रूपमा यो वा त्यो बाहानामा गाली गलौज गर्ने जस्ता कुराहरू मेरो मानसपटलमा छाई नै रहे। मैले गहन रूपमा सोच्नु पर्ने परिस्थिति सिर्जना हुँदै गयो। कतिपय कुराहरूलाई मैले सार्वजनिक गर्न नचाहँदा नचाहँदै पनि मप्रति गरिएको अन्यायलाई अब उजागर गर्नु बाहेक मेरा धैर्यताका बाँधहरू बन्द हुँदै गए।
म एक महिला शल्यचिकित्सक भई देशका नागरिकहरूको सेवामा इमान्दारिपूर्वक स्वास्थ्य सेवा प्रवाह गरिरहेको व्यक्तिलाई हतोत्साहित गर्ने, मानसिक तनाव सिर्जना गर्ने तथा अत्यन्तै लज्जित हुने खालको शब्दहरूको प्रयोग गरेर मलाई प्रताडित बनाइएकोप्रति मेरो गम्भीर असहमति एवं चित्त दुखाई भएको हुनाले नेपाल मेडिकल काउन्सिलको ध्यानाकर्षणका साथै नीजको गलत आचरण र एक जना नारीमाथि बारम्बार कुदृष्टी राखी Abuse गरेको हुनाले सोही बमोजिमको कानूनी कारवाही गरिपाउँ।
मलाई उचित न्याय र सो अस्पतालमा स्वास्थ्य सेवा प्रवाहमा खटिँदा सौहार्दपूर्ण वातावरण बनाई दिनुहुनका लागि निवेदन पेश गरेको छु। त्यतिमात्र नभई, गत महिना शल्यक्रिया गरेको बिरामीमा गम्भीर समस्या उत्पन्न भए पश्चात् म लगायत मेरो विभागका दुई जना चिकित्सकहरू उक्त बिरामीको अवस्थाबारे जानकारी गराउनका लागि उहाँको कार्यकक्षमा गएका थियौं। सो समयमा मलाई उहाँले “म तिम्रो अनुहार हेर्न चाहन्न, तिमिलाई देखेर म उत्तेजित हुन्छु, तिम्रो अनुहार मलाई नदेखाउ, निस्केर जाउँ” लगायतका सुन्नै नसकिने शब्दहरू प्रयोग गरेर मेरो चरित्र हत्या मात्र होइन मलाई Abuse समेत गर्नुभयो।
म एक शल्य चिकित्सकलाई देखेर उत्तेजित (Provoke) हुन्छु भन्ने उहाँजस्तो जिम्मेवार चिकित्सकले? यस्ता खालको व्यवहारले के म सरक्षित भएको हुँला त? म चिकित्सक मात्र नभई सामान्य नागरिक पनि हुँ। मेरो मानव अधिकारको रक्षा हुनु पर्ने की नपर्ने? मैले काम गर्ने क्षेत्र सुरक्षित र विश्वसनिय हुनु पर्ने की नपर्ने? मेरो सुपरभाईजर वा अस्पतालको एक जिम्मेवार पदमा आसिन व्यक्तिबाट मलाई देख्दा उत्तेजित हुने अभिव्यक्तिको भित्री आशय के होला? अस्पतालको निर्देशक जस्तो गरिमामय पदमा आसिन व्यक्तिले आफ्नै कर्मचारीलाई देख्दा उत्तेजित हुन्छ भने त्यो कर्मचारी कसरी सुरक्षित काम गर्न सक्छ होला?
यस्ता गम्भीर र ज्यादै संवेदनशिल बिषयवस्तु एवं घटनाको उचित न्याय प्राप्त गर्ने अठोट जागेको छ। म साधारण जागिरे मात्र भएको भए आफ्नो अभिभावक जस्तो व्यक्तिबाट यस्ता प्रकारको अपहेलना र Abuse लाई सहन गर्न सक्थे होला त? त्यसपछिको अवस्थाबारे के कसैले कल्पना गर्न सक्ला?
तिमिलाई जागिरबाट निकालिदिन्छु, विभिन्न बहानामा स्पष्टीकरण माग्छु भनी बारम्बार धम्की दिने, अस्पतालका कर्मचारीहरूको माझ मलाई तथानाम गाली गलौज गर्ने जस्ता व्यवहार गर्दै सीमा पार गरे पश्चात् उचित न्यायका लागि यो निवेदन पेश गरेको छु। म माथि अत्याचार, चरित्र हत्या तथा मानसिक यातनाका सम्बन्धमा छानबिन गरी न्याय दिलाउन तथा सो अस्पतालमा कार्यरत महिला कर्मचारी, स्वास्थ्यक चिकित्सकहरूले शान्तिपूर्ण वातावरणमा कुनै डर, त्रास र भय रहित वातावरणमा सेवा गर्ने वातावर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
No ads found for this position

डिसी नेपाल
Facebook Comment