दार्चुलामा बाढीपहिरोले ५ जनाको मृत्यु ७ बेपत्ता, हेलिकोप्टर प्रयोग गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परी घाइते भएका र प्रभावित भएकाहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
उनको निर्देशनपछि गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, विपद् व्यवस्थापन महाशाखा हेर्ने सहसचिव प्रदीप कोइरालाले नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पठाइसकेका छन्।
गृह मन्त्रालयका प्रवक्तासमेत रहेका पोखरेलले बाढी र पहिरोमा परी गम्भीर घाइते भएकाहरुलाई उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको बताए । घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार रहेर सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको छ ।
नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार अहिलेसम्म शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्याएको छ । अहिलेसम्म ५ जनाको शव भेटिएको ७ जना बेपत्ता रहेको र ८ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको डिआइजी आचार्यले जानकारी दिए ।
गृहमन्त्री खाणले बाढी पहिरो विस्तापितलाई तत्कालिन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमि हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिएको दार्चुलाका प्रजिअ उपाध्यायले बताए । सरकार नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि कुनै कसुर बाँकी नराख्न उनले गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
घटनामा मृत्युहुनेहरू महाकाली नगरपालिका २ मुल्ला मोड बस्ने बर्ष ७७ को नन्दराम बोहोरा, वडा नं. ३ बस्ने बर्ष ३५ की मानमती कार्कि, नौगाड गाउँपालिका २ दल्लेख बस्ने बर्ष ६८ को मोहनराम पार्की, वडा १ सल्ला बस्ने बर्ष ३२ कि जानकी ठगुन्ना, वडा १ बस्ने बर्ष १५ कि धनुली ठगुन्ना छन् ।
बाढीले लास्कु क्षेत्रका ४, बांगाबगर क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालय पूर्णरुपमा क्षति भएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ ।
बाढीले पार्किङमा राखेका ५ बोलेरो जीप बगाएको छ, भने १ ट्याक्टर र १ अल्टो कार बगाएको प्रहरी जनाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतले खोज तथा उद्धार गरिरहेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment