आप्रवासी श्रमिक दिवसः विदेशमा ज्यान गुमाएका कामदारको सम्झनामा दीप प्रज्वलन

डिसी नेपाल
४ पुष २०७९ ६:३४

खोटाङ। रोजगारीका सिलसिलामा विदेशमा ज्यान गुमाएका नेपाली कामदारको सम्झनामा खोटाङमा सामुहिक दिप प्रज्वलन गरिएको छ । पैसा कमाउने सपनामा विदेश पुगेकाबेला विभिन्न कारणले ज्यान गुमाएका कामदारको सम्झनामा आइतबार साँझ दिक्तेलमा दिप प्रज्वलन गरिएको हो ।

आप्रवासी श्रमिक दिवसको अवसरमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो ।

आप्रवासी कामदारको योगदान र त्यागको सम्मानमा सामुहिक रुपमा दिप प्रज्वलन गरिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए । रोजगारीका सिलसिलामा बिश्वका विभिन्न देशमा पुगेर रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्र मजबुत बनाउन पुर्‍याएको योगदान र त्यागको सम्मानमा नेपालको नक्सामाथि डिसेम्बर १८ तारिख लेखेर दिप प्रज्वलन गरिएको हो ।

खोटाङमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका आप्रवासीका परिवारसँग अन्तरक्रिया गर्दै आप्रवासी श्रमिक दिवस मनाइएको छ ।

आप्रवासी परिवारसँग रेमिट्यान्सको सदुपयोग र व्यवस्थापनका विषयमा छलफल गर्दै दिवस मनाइएको हो । कार्यक्रममा सहभागी महिलाले घरमा एक्लैहुँदा भोग्नु परेका समस्या, चुनौती तथा अनुभव सुनाएका थिए । कतिपयले विदेशमा रहेका सदस्यलाई चाँडो घर फर्काउने र स्वदेशमै आयआर्जन गर्नेगरी व्यवसायमूलक काम सुरु गरिसकेको बताएका छन् ।

कार्यक्रमको अवसरमा वित्तीय साक्षरता कक्षामा सहभागी जालपाका ५० जना र नुनथलाका ५० महिलालाई खुत्रुके बाँडिएको छ । विदेशबाट भित्रिएको ‘रेमीट्यान्सलाई बचत गर्नुपर्छ’ भन्ने सन्देश प्रवाहका लागि खुत्रुके वितरण गरिएको कार्यक्रम संयोजक आचार्यले बताए ।

आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाका साथै वैदेशिक रोजगारीमा रहँदा पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्युनतम मानवअधिकारको प्राप्ति आदिमा विदेशी नागरिक भएको कारणबाट आप्रवासी श्रमिकमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखी राष्ट्रसंघले आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरी लागू भएको दिन सन् २००० को डिसेम्बर १८ लाई आप्रवासी श्रमिक दिवसको रुपमा मनाउँदै आइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *