गोर्खा आर्मीलाई खुकुरी रमको भव्य सम्मान, छात्रवृतिको समेत घोषणा
पोखरा। खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले १२० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरुलाई सम्मान गरेको छ।
पोखरामा बिहीबार साँझ एक भव्य समारोहको आयोजना गरी नेपाली र वीरताको पर्यायको रुपमा स्थापित सेवानिवृत गोर्खा सैनिकहरुलाई सम्मान गरेको हो। भारतीय सेना, ब्रिटिस सेना, सिंगापुर आर्मी लगायतमा काम गरी सेवानिवृतहरुको कार्यक्रममा सहभागिता रहेको थियो।
सो क्रममा कम्पनीले वीरता प्रदर्शन गरी भारतमा विभिन्न पदक पाएका इण्डियन आर्मीका रिटायर्ड सैनिक विष्णुप्रसाद श्रेष्ठ र क्वीन एलिजावेथ लगायतका प्रतिष्ठित मेडलबाट सम्मानित ब्रिटिस आर्मीको मेजर पदबाट सेवानिवृत दिलबहादुर गुरुंगलाई विशेष सम्मान गरेको थियो।
कम्पनीको तर्फबाट मानव संसाधन प्रमुख जनकराज रेग्मीले श्रेष्ठ र गुरुंगलाई विशेष प्रकारले सुसज्जित खुकुरी उपहार दिई सम्मान गर्नुभएको थियो। यस्तै, कार्यक्रममा सहभागी १२० भन्दा बढी पूर्व गोरखा सैनिक र उहाँहरुका पत्नीहरुलाई समेत कम्पनीले टोकनअफ लभले सम्मान गरेको थियो।
कार्यक्रममा गोर्खा सैनिकहरुले नेपाल र नेपालीको नाम विश्वमा चम्काएका विषयमा वक्ताहरुले चर्चा गरेका थिए। गोर्खा सैनिकको वीरता र त्यसको प्रतिकको रुपमा रहेको खुकुरी र सोही नामबाट सर्वश्रेष्ठ रम उत्पादन गर्दै आएको कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत आयोजना गरेको कार्यक्रम महत्वपूर्ण रहेको उनीहरुले बताएका थिए।
कार्यक्रममा कम्पनीले आगामी वर्ष लडाईंको मैदानमा वीरता प्राप्त गर्ने गोर्खा सैनिकका २ जना बालबच्चालाई उच्च शिक्षासम्मका लागि पूर्ण छात्रवृतिको समेत घोषणा गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेको गण्डकी प्रदेशका नेपाली सेनाका प्रमुख मेजर जनरल दिपककुमार बानियाँले खुकुरी रमले थालेको नौलो र महत्वपूर्ण प्रयासका लागि धन्यवाद दिएका थिए। उनले आफूले समेत विदेशका साथी तथा आफन्तलाई नेपालको उपहारको रुपमा खुकुरीको कोरोनेसन ब्राण्ड लैजाने गरेको उदाहरण दिंदै गोर्खा सैनिकहरुप्रति कम्पनीले देखाएको सदाशयताको प्रशंसा गरेका थिए।
सो क्रममा उनले आफूहरु पूर्व सैनिकहरुसँग सहकार्य गर्न तयार रहेको समेत बताएका थिए। गोर्खा समाज पोखराका अध्यक्ष लक्ष्मीबहादुर गुरुंगले देशले आफूहरुलाई बिर्सिएको भन्दै नेपाल डिस्टीलरिजले चाहिँ सम्झिएर सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए।
उनले कम्पनीसँग सहकार्यको सुरुवात भएको र भविष्यमा यो अझै घनिभूत हुने विश्वास व्यक्त गरेका थिए। सम्मानपछि कम्पनीले पूर्व गोर्खा सैनिक र उहाँहरुका परिवारका लागि रात्रिभोजको समेत आयोजना गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment