बाइक र स्कुटर पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्दै सरकार

डिसी नेपाल
१७ माघ २०७९ २०:५९
812
Shares

काठमाडौं। हेल्मेट नलगाउँदा हुने दुर्घटनाको न्यूनीकरणका लागि आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भएको छ। मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटना र जीवन जोखिममा प्रायः उनीहरू नै पर्ने गरेका छन्।

यसैको न्यूनीकरणका लागि आज उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा चासो राख्ने विभिन्न सरकारी र सामाजिक निकाय तथा व्यक्तित्वको उपस्थिति थियो।

छलफलमा सहभागीहरुले बाइक र स्कुटर पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. समिरकुमार अधिकारीले कुल दुर्घटनाको ६९ प्रतिशत दुर्घटना दुई पाङ्ग्रे साधनको हुने गरेको एक अनुसन्धान तथ्यांक सुनाउदै हेल्मेट अनिवार्यताको कुरा आउँदा गलत अर्थ लगाइने गरेको बताए।

झण्डै २५ वर्ष अगाडि प्रहरीले हेल्मेट अनिवार्य गर्ने नियम ल्याउँदा त्यसलाई विवादित बनाइएपछि बीचमै रोकिएको थियो। प्रहरी नायब महानिर्देशक (डीआईजी) मीरा चौधरीले आफ्नो सुरक्षाको अपनत्व स्वयं जनताले नै नलिएसम्म नियम लागू गर्न सहज नहुने बताए।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि ग्याम्पो दोर्जीले ‘डबल हेल्मेट’को प्रचलन अन्तर्राष्ट्रिय रुपमै अनिवार्य भइसकेको तर हेल्मेट भने गुणस्तरीय हुनुपर्ने बताए।

सवारी तथा यातायात व्यवस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ। ऐनमा प्रष्ट लेखिएको छ, ‘दुई पाङ्ग्रे सवारी चलाउँदा चालक तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ।’

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *