भौतिक पूर्वाधार र यातायात सुधारका लागि कार्यदल गठन

डिसी नेपाल
१९ माघ २०७९ १८:०६
92
Shares

काठमाडौं। सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा रहेका तमाम समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यदल गठन गरेका हुन्। कार्यदलको संयोजकमा प्रा डा राजेन्द्रप्रसाद अधिकारी छन्। कार्यदल छ सदस्यीय छ।

कार्यदलमा पूर्वसचिव पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषयविज्ञका रूपमा डा लीना गुरुङ सदस्य छन्। कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर इञ्जीनियर अर्जुनप्रसाद अर्याल सदस्यसचिव छन्।

कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारीभित्रका सडक पूर्वाधार, सडक पुल, रेलवे सेवा, यातायात क्षेत्र व्यवस्थापन तथा इञ्जीनियरिङ सेवा व्यवस्थापन (इञ्जीनियरिङ काउन्सिल) समेतको कार्यविधिमा रही सुझाव प्रतिवेदन पेस गर्न भनिएको छ। कार्यदलको अवधि एक महिनाको छ।

सेवा प्रवाहलाई चुस्तदुरुस्त, सेवाग्राहीमैत्री, प्रभावकारी, सुशासनमैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शून्य सहनशील हुन अवलम्बन गर्नुपर्ने नीतिगत, कार्यप्रक्रियागत र संस्थागत सुधारका विषय प्रस्तुत गर्ने म्याण्डेट कार्यदललाई दिइएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *