सम्पन्न समाज निर्माणमा लागेका छौंः केपी ओली
चन्द्रौटा। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी समृद्ध समाज निर्माणको अभियानमा जुटेको बताएका छन्।
कपिलवस्तुको सिद्धार्थ क्याम्पस आज आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई समृद्ध बनाउने योजना आफूले सुरु गरेको दाबी गरे।
एमालेले देश व्यापीरूपमा सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियानअन्तर्गतको यस कार्यक्रममा अध्यक्ष ओलीले पार्टीलाई वैचारिक र सङ्गठनात्मकरूपमा सुधार गर्ने एवं समृद्ध र सम्पन्न समाज निर्माण गर्ने उभियानमा पार्टी लागेको स्पष्ट पारे।
उनले देशलाई गरिबीतर्फ धकेल्न खोजिएको आरोप लगाउँदै एमालेको सरकारका पालामा शुभारम्भ गरेका योजना आर्थिक सङ्कटमा परेको टिप्पणी गरे।
अध्यक्ष ओलीले आफ्नो सरकारका पालामा हुलाकी सडक, मदन भण्डारी सडक, रेल वे, अपर तामाकोशी, मेलम्ची खानेपानी, तुइन समाप्त पार्नेजस्ता महत्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशत बढी भएको दाबी गरे।
पार्टी कार्यकर्तालाई स्वार्थमा केन्द्रित नभई, समाजको नमूना योग्य, आदर्श नागरिक बन्न आग्रह गर्दै उनले पार्टीको उद्देश्य प्राप्ति गर्ने काममा लाग्नुपर्नेमा जोड दिए।
एमाले सचिव छविलाल विश्वकर्माले जनताका मुद्दालाई स्पष्टसँग बुझ्ने र जनताका कुरा सुन्ने काम मिसन ग्रासरुट अभियानमार्फत हुने स्पष्ट पारे।







डिसी नेपाल







Facebook Comment