पशुपतिनाथ मन्दिरमा आज जलहरी पुनर्स्थापना गरिँदै

डिसी नेपाल
१३ असार २०८० १३:२४
200
Shares

काठमाडौं। आइतबार पशुपतिनाथ मन्दिरबाट निकालिएको जलहरी आज पुनर्स्थापना गरिने भएको छ।

जलहरी बनाउँदा लागेको सुनको तौलमा विवाद भएपछि आइतबार अख्तियार दुरुपयोग अनुन्धान आयोगले पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको थियो।

जलहरीको नापतौल र परीक्षण पूरा भएपछि आज चार बजेपछि जलहरी पुनर्स्थापना गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। त्यसका लागि अख्तियारको टोली पशुपतिनाथमा पुगिसकेको छ।

जलहरी पुनर्स्थापना गर्न मंगलबार राति भारतबाट लाहा ल्याइएको थियो। कोषका अनुसार मंगलबार भारतको बैंगलोरबाट ४० किलो लाहा नेपाल आइपुगेको छ।

कोषका अनुसार नियमित पूजा र आरती गरिसकेपछि अपरान्ह चार बजे जलहरी पुनस्र्थापना गरिने छ। जलहरी पुनस्र्थापना गरेपछि क्षमापूजा गरिने कोषले जनाएको छ। आज जलहरी पुनस्र्थापना गरिने भएपछि पशुपतिनाथ मन्दिर परिषदका सुरक्षा व्यवस्था कडा पारिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको थियो। सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा सुनको जलहरी अनावरण गरेकी थिइन्।

स्रोतका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ।

सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्रम देखिएको छ। सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *