एकल पुरुषलाई विदुर भत्ता

डिसी नेपाल
१३ असार २०८० १८:०३
18.3k
Shares

जुम्ला। यहाँको हिमा गाउँपालिकाले पालिकाभित्रका ५० वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ ।

आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न उक्त उमेरका पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति ल्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

आगामी आवमा कार्यान्वयन हुने गरी एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । सो कार्यक्रमले हिमाका एकल पुरुषलाई राहत मिल्ने स्थानीयवासी बताउँछन् ।

कृषि क्षेत्रमा थप आकर्षण बढाउन गाउँपालिकाभित्रका विभिन्न वडालाई कृषि पकेट क्षेत्र घोषणा गरिने नीति तथा कार्यक्रम ल्याइएको उपाध्यक्ष सुपर्ना शाहीले बताइन् ।

वडा नं १ लाई धान पकेट क्षेत्र, आाचार्यलिहीलाई तरकारी पकेट क्षेत्र, वडा नं २ को ओदीलाई आलु र लसुन पकेट क्षेत्र, वडा नं ३ लाई स्याउ, ओखर र फलफूल पकेट क्षेत्र, वडा नं ४ र ७ लाई गहँु पकेट क्षेत्र, वडा नं ६ को पाथरखोलालाई मौरी पकेट क्षेत्र तथा वडा नं ५ को बुअ र वाजागाडालाई भेडा, सिमी तथा स्याउ पकेट क्षेत्र विकास गरी गरिबीको रेखामुनि रहेका बेरोजगार युवालाई उत्पादनशील कार्यक्रममा आबद्ध गर्न आवश्यक बजेटसहितको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले निःशुल्क स्वास्थ्य बीमा, गाउँपालिकाबाट लोक सेवा आयोगमार्फत अधिकृत वा सोभन्दा माथिका पदधारण गर्ने विशिष्ट व्यक्तिलाई सम्मान कार्यक्रम, पालिकाभित्र सार्वजनिक बस सेवा, विद्यार्थीसँग अध्यक्ष कार्यक्रममार्फत विभिन्न शैक्षिक सुधारका रणनीति गाउँपालिकाको १४ औँ गाउँसभाबाट नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *