मादीमा पहिराले दुई परिवार विस्थापित, चार घर जोखिममा

डिसी नेपाल
२१ असार २०८० १२:१७
208
Shares

कास्की। कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन्। चार घर जोखिममा परेका छन्।

मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक परिवार पहिराको जोखिममा परेको गाउँपालिकाले जनाएको छ। यही असार १९ गतेको अविरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घरलाई पहिराले जोखिम पुर्‍याएको हो।

अविरल वर्षापछि घरसँगैको सडक पहिराले लैजाँदा स्थानीय कमलापति बरालको दुई घर र दीपक बरालको एक घर एक गोठमा क्षति पुगेको छ। यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको सोही वडाका वडाध्यक्ष डिलबहादुर क्षेत्रीले बताए।

त्यसैगरी स्थानीय शमसेर पाण्डेको एक घर, भगवानसिंह गुरुङको एक घर एक गोठ र विष्णुमाया घर्तीको एक घर र एक गोठ जोखिममा परेको वडाध्यक्ष क्षेत्रीले घर जोखिममा परेकालाई उचित व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरिएको जानकारी दिए।

वडाध्यक्ष क्षेत्रीले भने, “पहिराले विस्थापित परिवारलाई आफन्त तथा समाजघरमा राखिएको छ। प्रभावितको व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरेका छौँ।” गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले पहिराले पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गरिने बताए।

उनले विस्थापितलाई वैकल्पिक बसोबासका लागि पहल भइरहेको जानकारी दिए। अध्यक्ष गुरुङले भने, “विस्थापित परिवारलाई पालिकाबाट राहत दिन्छौँ । प्रदेश तथा सङ्घीय सरकारसँग समेत समन्वय गरी एकै दिन एउटै कार्यक्रम गरेर नियमानुसार उचित राहत प्रदान गर्नेछौँ।”

अविरल वर्षा तथा पहिराका कारण मादीका अन्य वडामा समेत क्षति पुगेको बताइन्छ। विशेष गरी ग्रामीण सडकमा पहिराले क्षति गराएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *