विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : मुख्यमन्त्री पाण्डे

डिसी नेपाल
२७ असोज २०८० २१:२०
28
Shares

पर्वत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो महाधिवेशनको आज जलजलामा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले मुलुकको विकासका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य जरुरी रहेको बताए । उनले मुलुकमा लगानीको वातावरण बनेको भन्दै प्रवासी नेपालीहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न पनि आग्रह गरे ।

सरकार लगानी सुरक्षाको प्रत्याभूति दिन तयार रहेको भन्दै उनले कृषि, ऊर्जा, पूर्वाधारलगायतका क्षेत्रमा प्रवासी नेपालीलाई लगानी गर्न सुझाव दिए । यसका लागि प्रदेश सरकारले आवश्यक समन्वय र साझेदारी गर्न तयार रहेको समेत उनको भनाइ छ ।

उनले सीमित स्रोत र साधनका बीच गण्डकी प्रदेश विकासको गतिमा अघि बढेको बताउँदै ११ जिल्लाका ८५ वटै पालिकामा समानुपातिक रुपमा विकास गरिनेमा जोड दिए । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि योजना बैंक स्थापना गर्ने र सोहीअनुसार प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, नेकपा ९एमाले० केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कल्पना चापागाईँ, संविधानसभा सदस्य विकास लम्साल गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का निवर्तमान अध्यक्ष कुल आचार्य, एनआरएनएका आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठलगायतले मुलुकमा लगानीका सम्भावनाका बारेमा धारणा राखेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *