क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी दिन आह्वान
काठमाडाैं। संसदीय सुनुवाई समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल उपर उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मन्त्रिपरिषद्को कार्तिक २ गतेको निर्णयानुसार क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैर आवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस भएका परराष्ट्र मन्त्रालयका सचिव पौड्याल उपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो।
समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए।
मन्त्रिपरिषदको सिफारिसपछि परराष्ट्र मन्त्रालयले कार्तिक ३ गते सुनुवाईका लागि समितिमा पत्र पठाएको थियो। मन्त्रिपरिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment