एक्काइस मुहारचित्रमा ओली
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका २१ मुहार चित्र यतिबेला नेपाल कलापरिषद् बबरमहलमा प्रदर्शनमा राखिएका छन्।
उनलाई प्रत्यक्ष हेरेर कलाकारले क्यान्भासमा भरेका चित्रले ओलीको जीवनकालका हरेक मोडलाई झल्काएको छ। चित्रमा अध्यक्ष ओलीका राजनीतिक जीवनकालका आरोहअवरोह र राजनीतिक उतारचढाव देख्न पाइन्छ।
कलाकार राजेश महर्जनले बनाएका छ्वाली आर्टमा देश प्रेमसमेत देखाइएको छ। छ्वालीमा ओलीको तस्वीर दुरुस्त पाइन्थ्यो। चित्र सिर्जनाकर्ता महर्जनले मुहार चित्रको छेउमा चन्द्र र सूर्यसहितको सिर्जनाले देश प्रेमको भाव झल्काएको पाइन्थ्यो।

महर्जनले भने, “ओलीको मुहआर चित्रसँगै एउटै क्यान्भासमा चन्द्र र सूर्य नेपाली झण्डाको प्रतिक बनाएको छु, यो नेपालको शान हो, त्यसलाई विम्ब बनाएर देशप्रेम झल्काउने प्रयास गरेको छु।”
त्यस्तै अर्का कलाकार रत्नकाजी शाक्यले ओलीको १४ वर्षे जेल जीवनलाई स्मरण गराउने गरी क्यान्भासमा उनको चित्र भरेका छन्। उनले भने, “आफ्नो पनमा जेल बस्दाको भाव बनाएको हुँ। उक्त सिर्जनाले जेलमा १४ वर्ष बिताउँदाको आभाष गराउँछ।”
सात महिनाअघि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा कला कार्यशाला आयोजना गरिएको थियो। त्यसको संयोजन कलाकार सुष्माराज भण्डारीले गरेकी थिइन्। अध्यक्ष ओलीलाई त्यही बेला कलाकारसामु उभ्याइएको थियो।
उनलाई त्यहाँ प्रत्यक्षरुपमा हेर्दै कलाकारले मुहार चित्रलाई क्यान्भास रङ्ग्याएका थिए। कलाकार दीपेन्द्रमान बनेपालीले ओलीको गम्भीर मुद्राको मुहार चित्र बनाएका छन्।

अर्का कलाकार एनवी गुरुङ सिर्जनामा केही नियाल्दै गरेको तर चिन्तन मनन गरिरहेको भाव देख्न सकिन्छ। सात महिना अघिका ओलीका मुहार चित्र नै अहिले प्रदर्शनीमा राखिएका हुन्।
यी सबै मुहार चित्र हेरेर अध्यक्ष ओली दंग परे। चित्र नियाल्दै उनले भने, “मलाई नै तस्वीरमा उतार्नु भएछ, तस्वीरमा धेरै प्रकारका भाव देखेँ, यसरी कला सिर्जना गर्नुभएकामा तपाईंहरुलाई धन्यवाद।”
कलाकार सुष्माराज भण्डारीको एकल चित्रकला प्रदर्शनीसँगै ओलीका मुहार चित्र पनि राखिएका छन्। सो क्रममा कलाकारहरुले आफूले बनाएका चित्रका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए।







डिसी नेपाल







Facebook Comment