निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड

डिसी नेपाल
२८ कार्तिक २०८० ६:५१
16
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिएका छन्।

‘नेपाल संवत् ११४४’ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले साख्वाले काठमाडौं उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरेको परोपकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्ने बताएका छन्।

राष्ट्रपति पौडेलले चाडपर्व र यस खालका असल परम्पराले नेपाली समाजलाई सभ्य र सहिष्णु बनाउँदै लगेको उल्लेख गर्दै साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् मौलिक राष्ट्रिय संवत् रहेको बताएका छन्।

यस संवत्को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ। यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत स्थानहरूमा नयाँ संवत् शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ।

राष्ट्रपति पौडेलले नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास गर्दै स्वदेश तथा विदेशमा रहे सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *