क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन

डिसी नेपाल
१० मंसिर २०८० १८:३८
124
Shares

काठमाडौं। संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।

यसअघि समितिको कार्तिक १५ गते बसेको बैठकले पौड्यालबिरुद्ध उजुरी आह्वान गरेको थियो भने यसबीचमा पौड्यालबिरुद्ध दुईवटा उजुरी परेको थियो। उजुरीकर्तामध्ये सम्पर्कमा आएका एकजनासंग समितिले आइतबार नै छलफल गरेको थियो। उजुरी लगाएत भावी कार्ययोजनाका बारेमा छलफल गरि समितिले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

संसदीय सुनुवाइ समितिको सुनुवाईका क्रममा समिति सदस्यहरुको जिज्ञासामा प्रस्तावित राजदूत पौड्यालले यसअघि पनि सचिवलाई राजदूत सिफारिस गर्ने प्रचलन रहेको बताए। सरकारलाई आएको छात्रवृतिमा छोरीलाई विदेश पठाएको उजुरी पनि साँचो नरहेको उनले बताए। पौड्यालले आफु राजदूतमा नियुक्ती भएमा क्यानडामा रहेका नेपालीहरुको समस्या समाधान गर्न र दुईपक्षीय सम्बन्ध विस्तार गर्न ध्यान केन्द्रीत हुने जिकिर गरे।

हाल परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैर आवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सुनुवाई समितिले अनुमोदन गरेसंगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *