साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा सिक्किममा नेपाली युट्युबर पक्राउ

डिसी नेपाल
१५ पुष २०८० १२:५४
1.5k
Shares

झापा। साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा खोटाङकी युट्युबर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन्।

भिडिओ पोस्टमार्फत् साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा शनिबार उनलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको हो।

सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य शिला राईले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। उमालाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति लिइएको छ।

पक्राउ परेकी उमाले १० पुसमा वनझाँक्री बस्ने गुफा र ११ पुसमा चारधाम सिक्किम घुमफिरबारे भिडिओ सामग्री पोस्ट गरेकी थिइन्। साथै उनले सिक्किममा साकेला मनाउनका लागि भिडिओमार्फत आह्वान गरेकी थिइन्। त्यसैलाई आधार बनाएर पक्राउ गरिएको जनाएको छ।

सिक्किममा सन् २०२४ मा विधान सभा चुनाव हुँदै छ। सोही चुनावलाई लक्षित गरेर उमाले ‘साम्प्रदायिक’ तथा ‘आतङ्ककारी हिंसा’ भड्काउन षडयन्त्र गरेको आरोप लगाइएको छ । उमा राईले सिक्किमका विभिन्न समुदायको सामुदायिक हिंसा भड्काउन प्रवर्द्धन गरेको भन्दै परेको निवेदनको आधारमा पक्राउ गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *