विश्व बैंकले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने

डिसी नेपाल
१८ फागुन २०८० २०:२६
84
Shares

काठमाडौं। विश्व बैंकले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ।

विश्व बैंकको कार्यकारिणी समितिको आजको बैठकले सो निर्णय गरेको हो। उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैंकले जनाएको छ।

‘विश्व बैंक नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध छ । विश्व बैंकको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए) मार्फत हामीले सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेका छौँ,’ बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फेरिस हदाद जार्भोसले भने।

वाशिङटन डिसीस्थित बैंकको प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये एक सय मिलियन (करिब रु १३ अर्ब २५ करोड) रकम राजस्व संकलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ।

प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो रकम प्रयोग गरिनेछ। यस्तै, एक सय मिलियन (करिब रु १३ अर्ब २५) बढी रकम भने प्रादेशिक (मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश) र स्थानीय सडक पूर्वाधारको मर्मत–सम्भारमा खर्च हुनेछ। त्यसबाट सेवा प्रवाहमा प्रभावकारिताका साथै स्थानीय समुदायमा सहज पहुँच पुग्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *