‘सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्न नयाँ गठबन्धन’

डिसी नेपाल
२१ फागुन २०८० २२:४७
24
Shares

काठमाडौं। सुशासन र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्ने सर्तसहित नयाँ सत्ता गठबन्धनका लागि चार दलबीच सहमति भएको ती दलका नेताहरुले बताएका छन्।

सोमबार साँझ चार दलबीच बालुवाटारमा भएको आठबुँदे सहमतिपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन नयाँ गठबन्धन बनेको बताए। मुलुकको सुशासन, विकास सामाजिक न्याय र समृद्धिका सवालमा समान सोच राख्ने दलहरुबीच सत्ता गठबन्धनका लागि सहमति भएको उनले बताए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नेगरी चार दलबीच सहकार्य भएको बताए। सरकारलाई पूर्णता दिने प्रक्रियासँगै न्यूनतम साझा कार्यक्रम बनाउने र त्यसैअनुरुप सरकारले काम गर्ने नेता पोखरेलले जानकारी दिए।

सरकारमा सहभागी हुनेबारे अन्य दलसँग छलफल पछि मन्त्रालय बाँडफाँड टुंगो लाग्ने पनि उनले बताए। ‘सबैभन्दा पहिले हामी यो गठबन्धनमा को–को दल सहभागी हुन्छन् भनेर छलफल गरिसकेपछि मात्रै मन्त्रालय बाँडफाँटले सार्थकता पाउँछ। अहिले नै मन्त्रालय बाँडफाँटमा प्रवेश गर्दा अरुलाई सामेल गर्ने कुरा रोकिने भएकाले यो विषयमा छलफल भएको छैन’, उनले भने, ‘मन्त्रालय बाँडफाँट ठूलो विषय होइन, सजिलै टुंगिन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले पनि आर्थिक सुशासन, जवाफदेहिता र सेवा प्रवाहलाई सहज बनाउने सर्तसहित आफ्नो दल सरकारमा गएको बताउनुभयो ।

“आर्थिक शिथिलता र कुशासनका शृङ्खलाहरुबाटसमाजमा नैराश्य छ । त्यसलाई चिर्न सेवा प्रवाहको गति, मात्रा र गुणस्तर रफ्तारमा जाओस् भन्ने समाजको चाहना छ । त्यसलाई प्रधानमन्त्रीले गम्भीर रुपमा लिनुभएको हामीले पायौँ । अब फरक ढङ्गले जानुपर्छ भनेर प्रस्ताव आएपछि सरकारमा जाने निर्णय भएको हो” नेता वाग्लेले भन्नुभयो ।

चार दलबीच भएको आठबुँदे सहमति कार्यान्वयन नभएको अवस्थामा रास्वपा सरकारबाट बाहिरिने पनि उनले स्पष्ट पारे। ‘हामी निश्चित एजेण्डासहित यो–यो काम गर्ने भनेर सरकारमा जान लागेका छौं। ती काम गर्न सकेको दिनसम्म सरकारमा रहन्छौं। गर्न नसकेको दिन हामी छोड्ने छौं। तर त्यस्तो दिन आउँछ जस्तो हामीलाई लाग्दैन’, वाग्लेले भने, ‘शंकाको लाभसहित सरकारमा प्रवेश गरेका छौं। हाम्रो प्रवेश सशर्त छ। सेवा प्रवाह गर्न सकेको दिनसम्म हामी सरकारमा रहन्छौँ नसकेको दिन सम्मानजनक बहिर्गमन खोज्नेछौं।’

जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले संविधानको भावनाअनुसार मुलुकलाई गति दिन आफ्नो दल सरकारमा गएको बताए। ‘संघीयता, सुशासन र सामाजिक न्याय र समाजवाद उन्मुख राज्यसत्ता निर्माण गर्ने र अर्थ राजनीतिका हिसाबले पनि समाजवाद उन्मुख बनाउने हिसाबले आठबुँदे सहमति भएको छ । यसैका आधारमा नयाँ सत्ता समीकरण अघि बढ्छ। सेवा प्रवाह र सुशासनको पहलकदमीलाई थप प्रभावकारी बनाएर जान सहकार्य भएको हो,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.