स्थानीय चुनाव नजिकिँदै गर्दा पर्सामा रास्वपाप्रतिको आकर्षण बढ्दो: नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेताहरू प्रवेश
वीरगञ्ज।आगामी स्थानीय तहको निर्वाचन फागुनको अन्तिम वा चैतको पहिलो साता गराउनेबारे अनौपचारिक छलफल सुरु भएसँगै पर्सा जिल्लामा राजनीतिक सरगर्मी तीव्र बनेको छ। निर्वाचनमा बलियो उपस्थिति र उम्मेदवारी सुनिश्चित गर्ने उद्देश्यका साथ विभिन्न स्थापित राजनीतिक दलका प्रभावशाली नेता तथा कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने क्रम ह्वात्तै बढेको छ।
यसै क्रममा पर्सामा दुई फरक दलका शीर्ष तथा प्रदेश स्तरका नेताहरूले आफ्नो पुरानो पार्टी परित्याग गरी रास्वपाको साधारण सदस्यता लिएका छन्। राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव नेजामुद्दिन शमानी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मधेस प्रदेश कमिटी सदस्य प्रभाकर गुप्ता रास्वपामा प्रवेश गरेका हुन्।
पोखरियाको मेयर पद लक्षित गर्दै शमानी रास्वपामा
राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव नेजामुद्दिन शमानीले रास्वपाको आधिकारिक अनलाइन प्रणालीमार्फत पार्टीको सदस्यता ग्रहण गरेका छन्। लायन्स क्लबमार्फत विभिन्न सामाजिक कार्यहरूमा लामो समयदेखि सक्रिय रहँदै आएका शमानी आगामी स्थानीय तहको निर्वाचनमा पर्साको पोखरिया नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा प्रतिस्पर्धा गर्ने तयारीसहित रास्वपा प्रवेश गरेको बताइएको छ। शमानी स्वयंले पनि आफू रास्वपामा आबद्ध भई नयाँ राजनीतिक यात्राको सुरुआत गरेको पुष्टि गरेका छन्।
दुई दशक लामो कम्युनिष्ट राजनीति छाडेर गुप्ता रास्वपामा
उता, वीरगन्ज महानगरपालिका-१०, घडिअर्वा निवासी प्रभाकर गुप्ताले दुई दशक लामो कम्युनिष्ट राजनीतिलाई बिट मार्दै रास्वपा रोजेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको राजनीतिक धारमा २०६१ सालदेखि विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका गुप्ता तत्कालीन अखिल (क्रान्तिकारी) को नगर समिति, जिल्ला सचिवालय हुँदै २०६६ सालमा चर्चित ठाकुरराम बहुमुखी क्याम्पसको इकाइ अध्यक्ष बनेका थिए।
त्यस्तै, २०६७ सालमा माओवादी केन्द्रको पर्सा जिल्ला सदस्य बनेका उनी अखिल (क्रान्तिकारी) को १८औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र २०७३ सालमा केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय सचिवको महत्त्वपूर्ण जिम्मेवारीसम्म पुगेका थिए।
लामो समय योगदान गर्दा पनि पार्टीभित्र परिवारवाद, अवसरवाद र गुटगत प्रवृत्ति हाबी भएको तथा निष्ठावान् कार्यकर्ताको मूल्याङ्कन हुन छाडेकाले आफूले कम्युनिष्ट पार्टी छाड्नुपरेको गुप्ताले बताएका छन्। रास्वपाले मात्रै देशमा परिवर्तन र सुशासन ल्याउन सक्ने भएकाले आफू नयाँ विचार र ऊर्जासहित यस पार्टीमा जोडिएको उनको भनाइ छ।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा पर्सामा भइरहेको यो राजनीतिक ध्रुवीकरणले आगामी निर्वाचनमा रास्वपालाई थप मजबुत बनाउने अनुमान गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment