केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेशमा परकम्प, मन्त्री बर्खास्त गर्नेदेखि समर्थन फिर्तासम्म
काठमाडौं। केन्द्रीय सत्ता गठबन्धनमा उलटफेर आएपछि कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। कर्णाली सरकारमा मन्त्री रहेका तीन जनाले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष पदबाट राजीनामा दिएका छन्।
पदबाट राजीनामा दिँदै अर्थमन्त्री बेदराज सिंहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको पत्रकार सम्मेलन गर्दै जानकारी दिए। कर्णाली प्रदेश सभामा कांग्रेसका १४ सांसद रहेका छन्।
कांग्रेसबाट अर्थ मन्त्रालयमा सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए। मुख्यमन्त्री शर्मा माओवादीबाट निर्वाचित प्रदेश सांसद हुन्। नवगठबन्धनको सहमति अनुसार त्यहाँ एमाले र माओवादीबीच सरकार निर्माण हुनेछ।
यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्।
केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन्।
बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन्।
यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त गरेका थिए।
मुख्यमन्त्री पाण्डेले आज सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका छन्। दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफैं मातहत राखेका छन्।







डिसी नेपाल








Facebook Comment