‘संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा’
धनुषा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा रहेको बताएका छन्। जनकपुरधाममा नेपाली कांग्रेस धनुषाद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा उनले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने कुरामा जोड दिएको बताए।
‘सरकारले समिति बनाउन साथ दिनुको सट्टा विवादलाई बढाउने काम गरिरहेको छ’, नेता निधिले भने। कुनै पनि समस्या समाधान गर्न दृढ इच्छा शक्ति हुन आवश्यक रहेको उनको भनाइ थियो।
नेता निधिले समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडी बढ्न तथा प्रदेशलाई बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनमा ढिलाइ गर्न नहुने बताए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव, मिनाक्षी झा, मधेश प्रदेशसभा सदस्य रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगेन्द्र पञ्जियार, कांग्रेस धनुषाका उपसभापति गणेश झालगायतले आ–आफ्नो धारणा राखेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment