गाउँघरमा ‘चचहुई..चचहुई’को रौनक हराउँदै (फोटोकथा)

डिसी नेपाल
३ कार्तिक २०८३ १३:४९

काभ्रे । कुनैबेला बडादसैँ नजिकिँदै गर्दा गाउँघरका चौतारा, डाँडाकाँडा र खुला चौरहरूमा लिङ्गे पिङको बेग्लै रौनक र धूमचकरी सुरु हुन्थ्यो।

पिङ खेल्नका लागि बालबालिकादेखि तन्नेरी युवायुवतीसम्मको लामो लाइन लाग्थ्यो भने आकाश गुञयमान पार्ने गरी गुञ्जिने ‘चचहुईं’ को मीठो ध्वनिले सिङ्गो गाउँघरलाई नै अति उत्सवमय बनाउँथ्यो। तर, बदलिँदो समयसँगै यी सबै परम्परागत दृष्यहरू फेरिँदै गएका छन्।

दसैँको वास्तविक उमङ्ग, चहलपहल र रौनक छाउनुपर्ने यिनै दिनहरूमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकास्थित चुरीथुम्कामा भने निकै सुनसान र नरमाइलो चित्र देखिएको छ। परम्परागत रूपमा बाँस गाडेर तयार पारिएको लिङ्गे पिङ यतिबेला खेल्ने मानिस नपाएर पूर्ण रूपमा सुनसान र खाली अवस्थामा ठडिराखेको छ।

विगतका वर्षहरूमा यस क्षेत्रमा दसैँको अवधिभर गाउँघरका चौतारा र अग्ला डाँडाहरूमा हालिने लिङ्गे पिङमा मच्चिनका लागि बालबालिका, युवायुवती मात्र होइन, ज्येष्ठ नागरिकहरूको समेत उल्लेख्य घुइँचो लाग्ने गर्दथ्यो।

पालैपालो पिङ खेल्नका लागि घन्टौँसम्म प्रतीक्षा गर्नुपर्ने र एकापसमा रमाइलो गर्दै ‘चचहुईं’ को स्वरले सम्पूर्ण वातावरण नै गुञ्जायमान हुने गरेको स्थानीय बुढापाकाहरू अझै सम्झन्छन्। तर यस वर्ष चुरीथुम्काको सडककिनारमा ठड्याइएको त्यही अग्लो र आकर्षक लिङ्गे पिङ प्रयोगविहीन बन्न पुगेको छ, जहाँ पिङ खेल्ने मानिसहरूको उपस्थिति नगण्य मात्रामा मात्र देखिन्छ।

मुख्यतया वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विभिन्न अवसरको खोजीमा गाउँका सक्षम युवापुस्ता शहरतर्फ वा देशबाहिर पलायन हुनु, र गाउँघरमै बाँकी रहेका बालबालिका तथा किशोरकिशोरीहरू पनि आजकाल खेलकुद वा परम्परागत गतिविधिभन्दा मोवाइल, इन्टरनेट तथा विभिन्न सामाजिक सञ्जालहरूप्रति बढी आशक्त र आकर्षित हुनाले हाम्रा यी मौलिक सांस्कृतिक परम्परा तथा पिङ खेल्ने चलनहरू दिनप्रतिदिन तीव्र गतिमा हराउँदै गएको चिन्ता स्थानीय बासिन्दाहरू व्यक्त गर्ने गर्छन्।

मनिषा बस्नेत, नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *