एमालेको एकल बहुमत बिना देश बन्दैनः उपाध्यक्ष पौडेल
सर्लाही। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले बहुमत नल्याएसम्म देश नबन्ने बताएका छन्।
आज सर्लाहीको मलंगवामा पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देश बनाउन मधेसका नागरिकको उत्थान हुनुपर्नेमा जोड दिए। देशको विकासमा एमालेले जति अन्य पार्टीले योगदान नगरेको उनको भनाइ थियो।
‘‘राष्ट्रिय गौरवको योजनाका रुपमा महत्वपूर्ण योजना अगाडि सार्ने नेकपा(एमाले) मात्र हो ।’’ नेता पौडेलले भने, ‘‘यो पूरा गर्ने अभिभारा एमालेको हो । त्यसका लागि तपाईँहरुले ८४ को निर्वाचनमा एमालेलाई बहुमत दिएर विजयी गराउनुपर्छे।’’
नेता पौडेलले ८४ को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तालाई आह्वान गरे। एमाले नेता तथा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मधेसका समस्या समाधानमा सरकार दत्तचित्त रहेको बताए। मधेसका जनताको ठूलो समस्याको रुपमा रहेको कृषि, सिँचाइ, मिटरब्याजलगायत समस्यामा एमाले संवेदनशील रहेको उप्रेतीको भनाइ थियो।
नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिएको सुखी नेपाली, समृद्ध नेपाल देश र जनताको पक्षमा रहेको पुष्टि भएको उनको दाबी थियो। रक्षा मन्त्री उप्रेतीले सर्लाहीका जनताको लागि आफू पहिलादेखि लडिरहेको दाबी गरे।
पार्टीको जिल्ला अधिवेशनको बन्दसत्र सोमबार बिहानबाट सुरु हुने पार्टी जिल्ला कमिटीका उपाध्यक्ष विदुर प्याकुरेलले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment