नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई
काठमाडौं। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन निर्माणलाई प्राथमिकता दिने बताएकी छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको ऐनलाई छिटोभन्दा छिटो टुंगोमा पुर्याइ हाल देखिएका समस्या समाधान गर्ने बताइन्।
पदभार ग्रहण गर्दै उनले स्थानीय आवश्यकतामा आधारित विद्यालय पोषण प्रारुप विकास कार्यक्रम कार्यान्वयनसम्बन्धी पहिलो निर्णय गरिन्। उनले उक्त कार्यक्रममा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयनका लागि मन्त्रालयको विद्यालय शिक्षा महाशाखा हेर्ने सहसचिवको संयोजकत्वमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित समिति गठन गर्ने निर्णय गरिन्।
त्यसअवसरमा उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा आफू केन्द्रित रहने समेत उल्लेख गरिन्। ‘सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय छैन, सार्वजनिक शिक्षाप्रति आकर्षण बढाउने गरी काम गर्ने मेरो दायित्व हो’, उनले भनिन्।
उनले विश्वविद्यालयको शिक्षाप्रतिको आकर्षण पनि घट्दै गएको उल्लेख गर्दै भनिन्, ‘विश्वविद्यालयमा शैक्षिक पात्रो निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिने छु, साथै युवामा नेपालका विश्वविद्यालयमा पढेर स्वदेशमै काम गर्छु भन्ने विश्वास दिलाउने गरी काम गर्ने छु।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment