लागुऔषधसहित दुई पक्राउ

डिसी नेपाल
४ भदौ २०८१ २०:५५

काठमाडौं। प्रहरीले एक सय एक दशमलव सात ग्राम लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा झापा, बारदसी गाउँपालिका–३ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–५ पचुर्की बस्ने ३५ वर्षीय सुरेश थापा र नुवाकोटको साविक सुर्यमति–२ बस्ने ३६ वर्षीय रामकुमार थपलिया रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनीहरूलाई आज बिहान ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टबाट पक्राउ गरिएको हो। ‘आज बिहान ७ः३० चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टमा धरानदेखि काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ५८८४ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थसहित निजलाई पक्राउ गरिएको हो’, प्रवक्ता अधिकारीले भने।

उक्त बसको स्टाफ सिटमा सवार भई आएका सुरेश थापालाई शंका लागि जाँच गर्दा निजले बोकेको कालो रङको झोलाभित्र लुकाइछिपाइ गरी ल्याएको अवस्थामा प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये थापाबाट ९७ दशमलव सात ग्राम तथा थपलियाको साथबाट चार ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ र नगद नेपाली रु ७५ हजार पाँच सय बरामद गरी प्रहरी वृत्त, थानकोटबाट थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *