राष्ट्रिय आप्रवासन नीति छिट्टै ल्याइन्छ: मन्त्री भण्डारी

डिसी नेपाल
१४ भदौ २०८१ १८:४५
48
Shares

काठमाडौं। श्रम तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले राष्ट्रिय आप्रवासन नीति छिट्टै ल्याइने बताएका छन्।

श्रम मन्त्रालय, संयुक्त राष्ट्र आप्रवासन संगठन र जर्मनी सहयोग नियोगद्वारा आज आयोजित श्रम सम्झौतासम्बन्धी कार्यक्रममा मन्त्री भण्डारीले उक्त नीतिको मस्यौदा तयार गरिएको र त्यसलाई विज्ञहरुको सुझाव लिएर परिमार्जन गरी संसद्मा लैजाने बताए।

नेपाली श्रमिक वैदेशिक रोजगारमा जाँदादेखि फर्कने बेलासम्म सुरक्षित गर्नुपर्नेमा जोड दिँदै उनले आप्रवासनका क्षेत्रमा विद्यमान समस्या समाधान गर्न नीतिमा प्रस्ट व्यवस्था गरिएको बताए।

मन्त्री भण्डारीले कामदारलाई भाषा र सीप सिकाएर दक्ष बनाउने, उनीहरूको मानव अधिकारसम्बन्धी विषयलाई समावेश गरिएको उल्लेख गर्दै नीतिमा समयसापेक्ष सुधार गर्न सकिने बताए।

खाडी मुलुकहरूमा अधिक तापक्रमका कारण त्यहाँ जाने नेपाली श्रमिकको स्वास्थ्यमा समस्या आउने गरेको बताउँदै उनले करिब ४६ प्रतिशत युवाको मिर्गौलासम्बन्धी समस्या देखिएकामा चिन्ता व्यक्त गरे।

जुनसुकै विधा र प्रक्रियाबाट पनि विदेश पुगेका नेपालीहरू वैधानिक काममा क्रियाशील रहेमा उनीहरूलाई सरकारले वैधानिकता दिने बताउँदै मन्त्री भण्डारीले विश्वका एक सय ७१ मुलुकमा नेपाली कामदार जाने गरेको जानकारी दिए।

श्रम सचिव मुकुन्द निरौलाले वैदेशिक रोजगारीमा जाने नेपालीलाई सुरक्षित गर्ने, ठगिएमा, अलपत्र परेमा स्वदेश फिर्ता, क्षतिपूर्तिको व्यवस्था गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।

संयुक्त राष्ट्र आप्रवासन संगठनले नीतिको मस्यौदा निर्माण, माइग्रेसन स्कूल सञ्चालनलगायत कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *