नेपाली कांग्रेस महाधिवेशन: गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे?

डिसी नेपाल
१ कार्तिक २०८३ १४:५४
12
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवनिर्वाचित सभापति गगनकुमार थापाले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।

सभापति पदका अर्का प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई फराकिलो मतान्तरले पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका हुन्। उनले खसेको कुल मतको ९४.६ प्रतिशत मत हासिल गर्दा खड्गीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत मात्र प्राप्त गरे।

महाधिवेशनमा निर्वाचित उम्मेदवारहरूमध्ये सर्वाधिक मत ल्याउने शीर्ष १० (टप टेन) नेताहरूको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, सहमहामन्त्री तथा विभिन्न समावेशी समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरू परेका छन्।

सम्पन्न मतगणनाको परिणामअनुसार सर्वाधिक मत पाउनेको दोस्रो स्थानमा ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) समेत रहेका खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जन रहेका छन्। उनले ५ हजार ३३० मत अर्थात् ७७.५ प्रतिशत मत ल्याएका छन्।

त्यस्तै, ५ हजार १९३ मत (७४ प्रतिशत) प्राप्त गर्दै वासना थापा तेस्रो स्थानमा रहेकी छन्। बागमती प्रदेशबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित हरिप्रभा खड्गी ५ हजार १२६ मत (७३.८ प्रतिशत) सहित चौथो स्थानमा छिन्।

पाँचौँ स्थानमा महिला सहमहामन्त्रीमा निर्वाचित प्रतिमा गौतम रहेकी छन्। उनले ५ हजार ११६ मत अर्थात् ७२.९ प्रतिशत मत हासिल गरेकी छन्। खुला केन्द्रीय सदस्यमा विजयी बनेका निश्कल राई ४ हजार ९५६ मत (७२ प्रतिशत) सहित छैटौँ स्थानमा छन्।

दलित सहमहामन्त्रीमा निर्वाचित प्रकाश रसाइली ‘स्नेही’ ४ हजार ८०३ मत (६९.२ प्रतिशत) ल्याएर सातौँ स्थानमा रहेका छन् भने जनजाति केन्द्रीय सदस्यमा निर्वाचित तीर्थ लामा ४ हजार ८५३ मत (६९.१ प्रतिशत) सहित आठौँ स्थानमा छन्।

त्यसैगरी, खुला केन्द्रीय सदस्यमा निर्वाचित इन्द्रबहादुर बानियाँ ४ हजार ७३२ मत (६८.८ प्रतिशत) का साथ नवौँ स्थानमा रहेका छन्। गण्डकी प्रदेशबाट ३५ वर्षमुनिका युवा कोटातर्फ केन्द्रीय सदस्यमा निर्वाचित इन्जिनियर सुवास पौडेल ४ हजार ५४९ मत (६५.८ प्रतिशत) ल्याएर दशौँ स्थानमा पर्न सफल भएका छन्।

सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवारहरूको सूची:

गगनकुमार थापा -सभापति- ६,५८४ मत (९४.६%)

चिरीबाबु महर्जन– खुला केन्द्रीय सदस्य -५,३३० मत (७७.५%)

वासना थापा -महिला खुला केन्द्रीय सदस्य – ५,१९३ मत (७४%)

हरिप्रभा खड्गी – बागमतीबाट महिला केन्द्रीय सदस्य -५,१२६ मत (७३.८%)

प्रतिमा गौतम – महिला सहमहामन्त्री – ५,११६ मत (७२.९%)

निश्कल राई– खुला केन्द्रीय सदस्य- ४,९५६ मत (७२%)

प्रकाश रसाइली ‘स्नेही’– दलित सहमहामन्त्री – ४,८०३ मत (६९.२%)

तीर्थ लामा – जनजाति केन्द्रीय सदस्य – ४,८५३ मत (६९.१%)

इन्द्रबहादुर बानियाँ – खुला केन्द्रीय सदस्य – ४,७३२ मत (६८.८%)

इन्जिनियर सुवास पौडेल – ३५ वर्षमुनि (गण्डकी) युवा केन्द्रीय सदस्य – ४,५४९ मत (६५.८%)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *