लोप हुँदै मगर भाषा, पछिल्लो पुस्ताले बुझ्न र बोल्न छोडे

डिसी नेपाल
१६ भदौ २०८१ १८:०३
192
Shares

गोरखा। जिल्लाको सहिद लखन गाउँपालिका–१ बक्राङस्थित श्री थानीमाई आधारभूत विद्यालयमा गएको दुई वर्षअघिसम्म मगर भाषाको पढाइ हुन्थ्यो। मगर भाषाको संरक्षण र सम्वर्द्धन गर्न स्थानीय मगर समुदायको पहलमा पुस्तान्तरणको उद्देश्यले उक्त विद्यालयमा मातृ भाषामा पठनपाठन हुन्थ्यो।

करिब १० वर्षसम्म मगर भाषाको कक्षा सञ्चालन भएकामा अहिले भने पठनपाठन रोकिएको छ। यस क्षेत्रमा बक्राङको लोपा गाउँ, गालधूप, पीपलछाँप गैरीटोललगायत मगर समुदायको बाहुल्यता छ।

यहाँका मगर समुदायका अभिभावकमध्ये करिब ८० प्रतिशतले मगर भाषा राम्रोसँग जानेका छन्। आफ्नो मातृभाषा पछिल्लो पुस्तालाई सिकाउन छोडेपछि मगर भाषा विस्तारै लोप हुँदै गएको स्थानीय वेदबहादुर थापामगरले बताए।

विद्यालयमा कक्षा सञ्चालन गर्दा अभिभावक र विद्यार्थीले रुचि नदेखाएपछि निरन्तरता दिन नसकिएको विद्यालयका प्रधानाध्यापकसमेत रहेका थापामगरले जानकारी दिए। उनले भने, “विद्यालयमा करिब ६० प्रतिशत मगर समुदायका बालबालिका पढ्छन्, अहिले अधिकांशलाई मगर भाषा बोल्न र लेख्न आउँदैन ।”

बालबालिकाको भविष्यका लागि मातृभाषाभन्दा पनि अङ्ग्रेजी राम्रो हुनुपर्छ भन्ने सोचले मातृभाषा सिकाउनेतर्फ कसैले ध्यान नदिएका प्रअ थापामगरले बताए। “मातृभाषा सिकाउनुपर्छ भन्दा सबैले मातृभाषाले केही गर्दैन बरु अङ्ग्रेजी राम्रो भए देशविदेशमा गएर काम गर्न सक्छन् भनेर प्रतिक्रिया दिने गर्नुहुन्छ । हामीले चाहेर मात्र नहुने रहेछ”, उनले भने।

घरमा बुवाआमाले बोल्ने, छोराछोरीलाई नसिकाउने गरेकाले पछिल्लो पुस्ताले भाषा बुझ्न र बोल्न छोडेको मगर समुदायका अगुवा बताउँछन्। अहिले आफ्नो भाषा, संस्कृति र पहिचानलाई जर्गेना गर्नुपर्नेमा मगरसंघ गोरखाका सदस्य वीरेन्द्र थापामगरले जोड दिए।

“मातृभाषाभन्दा अन्य भाषा सिकाएर विदेश पठाउने अभिलाषामा अभिभावक देखिन्छन्”, उनले भने, “विदेशी हाम्रो भाषा संस्कृति हेर्न, अध्ययन गर्न आउँछन्, हामी भने हाम्रो भाषा संस्कृति भुल्दै गएका छौं।”

पुस्ता हस्तारन्तरण नहुँदा भाषा तथा संस्कृति लोप हुँदै गएको जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरले बताए। घरमा अभिभावकले जानेपछि छोराछोरीलाई नसिकाउने, नेपाली भाषा कुराकानी गरिदिने, मातृभाषा बोल्न प्रत्साहन नगर्ने प्रवृत्तिले भाषासँगै संस्कृति लोप हुँदै गएको उनको भनाइ छ। उनले भने, “यसलाई लोप हुन नदिन मगर समुदाय बढी सचेत हुनु आवश्यक छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *