डेंगी संक्रमण बढ्दै, कीट व्यवस्थापनमा समस्या

डिसी नेपाल
१६ भदौ २०८१ १९:५७
304
Shares

सुदूरपश्चिम। लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगी रोगबाट सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना संक्रमित भएका छन्। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार पछिल्लो डेढ महिनामा मात्रै एक सय ७३ जनामा संक्रमण भएको छ । प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी डेंगीबाट अहिलेसम्म ८६ जना संक्रमित छन् ।

यस्तै, अछाममा ६७, डोटीमा ५५, कञ्चनपुरमा ४७, दार्चुलामा २४, बाजुरामा १९, बैतडीमा १८, डडेलधुरामा १३ र बझाङमा पाँच जना संक्रमित छन् । गत पुस महिनामा प्रदेशभरिमा १३ बिरामी फेला परेकामा त्यसयता सङ्क्रमण निरन्तर बढ्दै गएको छ । सबैभन्दा बढी अगस्तमा ९साउनरभदौ० महिनामा ८८ व्यक्तिमा संक्रमण देखिएको छ।

कैलालीको गोदावरी नगरपालिका, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले डेङ्गी रोकथामका लागि वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायतको संयुक्त पहलमा लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइहेको बताए। “यसबाहेक लामखुट्टेको वृद्धि हुन नदिन शुक्रबारका दिन हरेक विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालय आसपास सरसफाइसमेत गर्ने गरिएको छ”, उनले भने।

शंकास्पद बिरामी जाँच गर्न आवश्यकताअनुसार कीटको व्यवस्थापन हुन नसक्दा बिरामीको पहिचानमा भने केही समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीको भनाइ छ। उनले भने, “आवश्यकतानुसार कीटको व्यवस्थापन नहुँदा कतिपय समयमा शङ्कास्पद बिरामी पहिचान गर्नमा समस्या भएको छ।”

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी आसारदेखि कात्तिक महिनामा पानी पर्ने भएकाले लामखुट्टेको वृद्धि भई संक्रमणको बढी जोखिम रहने गरेको बताउँछन्। उनले भने, “यस मौसममा डेंगीको जस्तो लक्षण देखिने अन्य रोगका धेरै बिरामी भेटिने भएकाले सबैका लागि कीट व्यवस्थापन गर्दा निकै खर्चिलो हुन्छ, डेंगीको गम्भीर प्रकृतिका बिरामीका लागि भने कीटको व्यवस्थापन गर्ने गरिएको छ।”

डेंगीको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । गत वर्ष प्रदेशमा डेंगीबाट तीन जनाको मृत्यु भएको थियो। लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोग रोकथामको प्रभावकारी उपाय भएको स्वास्थ्यकर्मीको भनाइ छ। रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी तथा मांसपेसी दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन्। नाक, गिजा र पेटबाट रगत बग्ने जस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुनसक्ने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *