मधेसमा सुविधा सम्पन्न रंगशाला बनाइने

डिसी नेपाल
१७ भदौ २०८१ २१:३७
16
Shares

सिरहा। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेस प्रदेशमा सुविधा सम्पन्न रंगशाला बनाउने बताएका छन्। मधेस प्रदेशमा हालसम्म एउटा पनि रंगशाला नभएकाले आफ्नै कार्यकालमा एउटा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने उनले बताएका हुन्।

आज सिरहाको लहानमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं। १ सिरहाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले प्रदेशको राजधानी जनकपुरमा एउटा रंगशाला नभएको प्रसंग उल्लेख गरे। ‘यहाँका अन्य जिल्लामा पनि छैन, अनि कसरी मधेसमा खेलकुदको विकास हुन्छ ?’, उनले भने। उनले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा यही वर्षभित्र आयोजना हुने जानकारी पनि दिए।

त्यसपछि ११औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रंगशाला निर्माण गरिने उनको भनाइ छ। मन्त्री चौधरीले राष्ट्रको सर्वांगिण विकासका लागि खेलकुदको विकास हुनु उत्तिकै जरुरी रहेको धारणा राखे। उनले आफ्ना छोराछोरीलाई खेलकुदमा लगाउन आग्रह गरे। खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठा बढाउने उनले बताए।

मन्त्री चौधरीले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी मधेस प्रदेशको वीरगञ्ज, जनकपुरधाम र राजविराजमा पूर्वाधार निर्माणलाई तीव्रता दिने बताए। यसक्रममा जीर्ण रहेको वीरगञ्जस्थित नारायणी रंगशालाको केही दिनअघि निरीक्षण गरेको र आइतबार मात्र जनकपुरधामको रामजानकी रंगशालाको निरीक्षण गरेको जानकारी दिए।

नेपाली कांग्रेस सिरहाका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताले मन्त्री चौधरीलाई स्वागत र सम्मान गर्दै मधेसको खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *