एमाले पोलिटब्युरो बैठकः वार्षिक कार्ययोजनामाथि छलफल सुरु

डिसी नेपाल
१८ भदौ २०८१ १९:१९
16
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आजदेखि सुरु पोलिटब्युरो बैठकमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरिएको छ। पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

कार्ययोजनामा पार्टी सदस्यता, विस्तार र अभिलेखीकरण, पार्टी र जनवर्गीय संगठनका नियमित अधिवेशन, पार्टी कमिटी तथा नेता र कार्यकर्ताको मूल्यांकन गरिने कुरा समेटिएको उनले बताए। ‘पार्टी कमिटीले दिएका काम पूरा गर्छ कि गदैनन्, क्रियाशील छ कि छैनन् भनेर जोड दिइएको छ। विधिसम्मत तरिकाले पार्टी कमिटी चलेका छन कि छैनन् भनेर पनि मूल्यांकन गर्ने विषय पनि कार्ययोजनामा राखिएका छन्’, प्रचार विभाग प्रमुख गौतमले भने।

यस्तै सरकार र जनप्रतिनिधिको प्रभावकारिता परिचालन गर्ने, सरकारले गरेका कामलाई जनस्तरमा लगेर स्थापित गर्ने कुरा पनि कार्ययोजनामा राखिएको जनाइएको छ। प्रत्येक पार्टी कार्यालयलाई प्रविधिमैत्री बनाउने, प्रचार कार्यलाई थप प्रभावकारी बनाउने, पार्टी कार्यालयमा प्रचार डेस्क स्थापना र सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधि सञ्चालन गर्ने विषय पनि उल्लेख गरिएका छन्।

भूमिका नपाएका नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइने र पार्टीका प्रत्येक तहका कमिटीले स्रोत सुनिश्चित गरेर बजेट निर्माण गर्ने कुरा पनि समेटिएको छ। प्रचार विभाग प्रमुख गौतमले एमाले केन्द्रीय कार्यालय भवन निर्माण गर्न समिति गठन गरेर चाँडै काम सुरु गर्ने विषय पनि कार्ययोजनामा रहेको बताए।

कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन

एमालेले विश्वभरका कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। प्रचार विभाग प्रमुख गौतमकानुसार मार्क्सवादको सिर्जनात्मक प्रयोग र सम्बन्धित मुलुकको अनुभवमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलन आगामी मंसिर वा वैशाखमा महिनामा गर्ने गरी छलफल भइरहेको उनले जानकारी दिए।

भोलि सबै पोलिटब्युरो सदस्यले आ–आफ्नो भनाइ राख्ने कार्यतालिका छ। कार्ययोजनालाई पोलिटब्युरो सदस्यको सुझावका आधारमा अन्तिम रूप दिएपछि सार्वजनिक गरिने प्रचार विभाग प्रमुख गौतमले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *