चेपाङ बालबालिकाले पहिलो पटक लट्टेको स्वाद लिँदै
चितवन। चोध वर्षीया नमिता चेपाङले पहिलो पटक लट्टेको स्वाद लिँदै गर्दा उनलाई यो परिकार नौलो लाग्यो। जिल्लाको पहाडी क्षेत्र सिद्धिबाट रत्ननगर नगरपालिका–११ मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बसेर कक्षा ४ मा पढ्दै गरेकी नमिताले यस अघिका पर्वमा मासु र भातमात्रै खाएको सुनाइन्।
अनदिको चामलबाट बनेको चाम्रो, गुलियो भात खाँदै गर्दा नमितालाई नौलो लाग्यो। केन्द्रमा रहेका एक सय ५० चेपाङ बालबालिकालाई तीजको अवसरमा नेपाल प्रेस युनियनले आज लट्टे खुवाएको हो। नमिताले भनिन्, “तीज मैले पहिलो पटक सुनेकी हुँ, हामीले त न्वागी पर्व मनाउथ्यौं।”
सोही केन्द्रमा रहेकी १६ वर्षिया जुना चेपाङले पनि पहिलो पटक लट्टेको स्वाद लिइन्। खाँदै गर्दा उनले भनिन् “मलाई त नौलो परिकार मिठो लाग्यो ।” कक्षा नौ मा अध्ययनरत जुनाले आफूहरुले खासै गुलियो नखाने गरेको भन्दै भातमा चिनी हाल्दा मिठो लागेको सुनाइन्।
उनी जस्तै केन्द्रमा रहेका ४८ छात्रा र एक सय दुई छात्रले लस्करै लाइन लागेर दर खाएका थिए। केन्द्रमा शिशु कक्षादेखि स्नातक पढ्नेसम्म रहेका छन्। उनीहरुमध्ये शहीद स्मृति क्याम्पसमा तीन, नेपाल माविमा पाँच, केन्द्रसँगै रहेको पञ्चतेजज्योति आधारभूत विद्यालयमा ८२ र बाँकी पञ्चकन्या मावि जयमंगलामा अध्ययनरत छन्।
केन्द्रका संस्थापक अध्यक्ष केपी किरण शर्माका अनुसार अधिकांश बालबालिकाले पहिलो पटक लट्टे खाएर तीज पर्व मनाएका हुन्। त्यहाँ चितवनको भरतपुर महानगरपालिका वडा नं २९, इच्छाकामना गाउँपालिका, कालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्रमा बसोबास गर्ने बालबालिका रहेका छन्। त्यस्तै गोरखाको गण्डकी गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका बालबालिका पनि रहेका छन्।
उनीहरुलाई तीजमा दर खुवाएर नचाउन रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव पाठक, नगरपालिकाका प्रवक्ता कुलप्रसाद सापकोटा पुगेका थिए। साथै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टरका केन्द्रीय सचिव शान्ता अधिकारी, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवालसँगै प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल सहित जिल्लाका पत्रकार उपस्थित भएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment