आँखा विशेषज्ञ डा. सन्दुक रुइत भन्छन्- स्वास्थ्य सेवा सधैं जनमुखी हुनुपर्छ
जुम्ला। विश्व प्रसिद्ध आँखा विशेषज्ञ डा सन्दुक रुइतले सेवा सधैं जनमुखी हुनुपर्ने बताएका छन्। आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्र रोग विभागको उद्घाटन गर्नुर्दै उनले यस्तो बताएका हुन्।
डा रुइतले प्रतिष्ठानमा आँखा विभाग स्थापना हुनु कर्णालीवासीका लागि खुसीको विषय भएको भन्नुहुँदै यसले मोतियाविन्दुको शल्यक्रियाका लागि वर्षौंसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे।
“दुईजना आँखा चिकित्सकले प्रतिष्ठानबाट नियमित सेवा दिने छन् । अबको एक वर्षपछि कर्णालीका दुई हजार जनाको मोतियाविन्दुुको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान तयार हुनुपर्छ । यसले यहाँका सीमान्तकृत समुदायका व्यक्ति र ग्रामीण गाउँबस्तीका नागरिकको निकै लाभान्वित हुनेछन्”, उनले भने,“कर्णालीका दूरदराजसम्म मोतियाविन्दुुको सेवा विस्तार गर्नेका लागि चाहिने स्रोत साधनको सहयोग म सधैँ तयार छु, यसमा सबैको उत्तिकै सहयोगको खाँचो छ।”
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले तिलगङ्गा आँखा अस्पताल र फ्रेड हलोज अस्ट्रेलिजले केही सामग्री सहयोग गरेपछि प्रतिष्ठानमा नेत्र रोग विभाग स्थापना गर्न सकिएको बताए। “अब जुम्लामै मोतियाविन्दुको नियमित शल्यक्रिया र निरन्तर सेवा प्रदान हुनेछ । यसबाट दुर्गम गाउँका नागरिकले लाखौँ खर्चेर आँखाको उपचार गर्नुपर्ने दिनको अन्त्य हुनेछ”, उनको भनाइ थियो।
प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आँखाको बहिरङ्गबाट मात्रै उपचार हुँदा सामान्य समस्या आउँदा ‘रेफर’ गरेर बाहिर पठाउनुपर्ने बाध्यता सधैँका लागि हटेको बताए। मोतियाविन्दुको जटिल शल्यक्रियासमेत अब जुम्लामै हुने प्रतिष्ठानले जनाएको छ । यहाँका स्थानीय तहमा सञ्चालन भएको आँखा शिविरबाट छनौट भएका ४० जनाकोे मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको महतले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment