गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

डिसी नेपाल
२० कार्तिक २०८१ २२:०६
28
Shares

किमाथाङ्का। सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ चेपुवाबाट एक जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। भोटखोला–२ चेपुवाकी गर्भवती ३५ वर्षीया जीवनकुमारी राईलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो।

अठार घण्टा लामो प्रसूति ब्यथा लागेर चेपुवा स्वास्थ्यचौकी भर्ना भएकी ३५ वर्षीया राईलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका पब्लिक हेल्थ नर्स भवानी तिम्सिनाले जानकारी दिइन्।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ।

यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्र भोटखोला भौगोलिक रुपमा निकै विकट मानिन्छ। प्रसूति ब्यथा लागेकी राईको स्वास्थ्य अवस्था जटिल हुँदै गएका कारण थप उपचारका लागि हवाई उद्धारमार्फत काठमाडौं पठाइएको पब्लिक हेल्थ नर्स तिम्सिनाले बताइन्।

जिल्लामा पछिल्लो समय गर्भवती तथा सुत्केरीको उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ। दुर्गम क्षेत्रका जटिल प्रकारका सुत्केरी तथा गर्भवतीका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई उद्धार प्रभावकारी देखिएको छ।

भौगोलिक विकटताका कारण नजिकमा बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको प्रसूति सेवा छैन। विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दुर्गममा भरपर्दो प्रसूति सेवा छैन। जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन।

गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत विसं २०७७ देखि हालसम्म २० जना बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ। उद्धार गरिएका १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *