हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा संवेदनशील र महत्वपूर्ण निकाय हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण पछि परेको बताएका छन्।
मन्त्रालयमा आज हुलाक सेवा विभागले ‘एक सय ५०औँ विश्व हुलाक दिवस’ र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई हुलाक टिकटमा टाँचा प्रदानपछि उनले हुलाकलाई आधुनिकीकरण गर्न आफू प्रतिबद्ध रहेको बताए। हुलाक सेवा बलियो नहुँदा सूचना प्रविधिको विकाससँगै निजी क्षेत्रले फाइदा उठाइरहेको मन्त्री गुरुङको भनाइ थियो।
उनले परम्परागत कार्यशैलीमा थप रूपान्तरण गरेर विभागले ‘डिजिटल’ शैलीमा सेवा प्रदान गर्न जरूरी रहेको बताए। जसका लागि सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्दै मन्त्रालय कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया करिब अन्तिम चरणमा पुगेको मन्त्री गुरुङले जानकारी दिए। ‘सुरक्षण मुद्रण केन्द्रको सिइओ बनाइसकेका छौँ। अब आफ्नै देशको छापाखानाबाट कागजात छाप्न सक्षम हुन्छौँ’, उनले भने, ‘सुरक्षण मुद्रण परिचालन हुन थालेपछि धेरै राजस्व बचाउन सकिन्छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment