लाम्पार्डको प्रशिक्षणमा चेल्सीको पहिलो जित

डिसी नेपाल
७ भदौ २०७६ २१:०६

लण्डन (एजेन्सी) । इंग्लिस प्रिमियर लिगमा प्रशिक्षक फ्रांक लाम्पार्डको प्रशिक्षणमा चेल्सीले पहिलो जित निकालेको छ । तेस्रो खेलमा आएर जितको खुसी मनाएको चेल्सीको जितमा अब्राहमले दुई गोल गरे ।

नोर्विचको मैदानमा शनिबार भएको खेलमा चेल्सीले तीन दुईको संघर्षपुर्ण जित निकाल्यो । पहिलो आधा घण्टा भित्र नै चार गोल भएको खेलमा चेल्सीले तेस्रो मिनेटमा नै गोल गर्न सफल भयो । उसका लागि केभिन अब्राहमले गोल गरेका थिए । तर छैटौं मिनेटमा टोड कान्टवेलले गोल गर्दै नोर्विचलाई बराबरीमा पुर्याए ।

१७ औं मिनेटमा मासोन माउन्टले गोल गर्दै फेरी चेल्सीलाई अग्रता दिलाए । पुलिसिसको पासमा मासोनको गोलमा दोस्रो पटक खेलमा अग्रता बनाएको चेल्सीको खुसी धेरै बेर टिकेन । ३० औं मिनेटमा टिमु पुकीले गोल गर्दै नोर्विचलाई बराबरीमा पुर्याए ।

चेल्सीले नोर्विचको मैदानमा घरेलु टिमलाई बारम्बार दबाव दिएपनि गोल थप्न दोस्रो हाफ कुर्नुपर्यो । खेलको ६८ औं मिनेटमा अब्राहमले कोभाकिकको पासमा गोल गर्दै चेल्सीलाई तीन दुईले अगाडी राखे । खेलको अन्तिमतिर चेल्सीले अर्को गोल थपेपनि त्यसलाइ अफसाइड दिइयो ।

यो जीतले चेल्सीको तीन खेलमा चार अंक भएको छ । उसले पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग चार शुन्यको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा लेस्टर सिटीसँग एक एक गोलको बराबरीमा रोकिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *