काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना

डिसी नेपाल
२१ कार्तिक २०८३ १३:४५

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छीप्रतिको आत्मीयताको चर्चा गरेका हुन्।

कागलाई यमराजको दूत मानिने धार्मिक विश्वास उल्लेख गर्दै प्रधानमन्त्री शाहले कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा रहेको बताएका छन्। आधुनिक सञ्चारको विकास नहुँदा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउन लागेको संकेतका रूपमा लिने गरिएको विश्वाससमेत उनले स्मरण गरेका छन्।

उनले परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्पराको चर्चा गर्दै यमराजलाई डरको प्रतीकका रूपमा मात्रै नभई न्यायको प्रतीकका रूपमा पनि बुझ्नुपर्ने बताएका छन्। यमराजले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई संरक्षण गर्ने धार्मिक विश्वास रहेको उनको भनाइ छ।

धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै प्रधानमन्त्री शाहले सबैमा निरोगी जीवनको कामना गरेका छन्।

त्यस्तै, भोलि मनाइने कुकुर तिहारको प्रसंग उल्लेख गर्दै उनले कुकुरलाई मानव सभ्यताको विश्वासिलो र वफादार साथीका रूपमा व्याख्या गरेका छन्। घरको रखवारीदेखि अनुसन्धान र उद्धार कार्यसम्म कुकुरले मानिसलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले कुकुरप्रतिको प्रेम र कृतज्ञता व्यक्त गर्ने यस पर्वले अन्य जीवजन्तुप्रतिको सहअस्तित्व र सद्भावलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले हामीलाई दिऊन्,’ प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा लेखेका छन्।

उनले आफ्नो सन्देशको अन्त्यमा ‘जय देश, जय संस्कृति’ उल्लेख गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *