निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि
काठमाडौं। चालु आवको जेठ सम्म नेपालको निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१-८२ को ११ महिनामा गत आवको सोहि अबधिको तुलनामा निर्यात व्यापार उक्त अनुपातमा वृद्धि भएको देखिएको हो।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिना सम्म नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।
गत आवको सोहि अबधिमा नेपालले १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको मात्रै वस्तु निर्यात गरेको थियो। चालु आवको यो निर्यात गत आवको सोहि अबधिको तुलनामा ७७.७७ प्रतिशतले धेरै हो।
चालु आवमा नेपालबाट प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुँदा नेपालको निर्यात व्यापारले उल्लेख्य रुपमा फड्को मारेको हो।
११ महिनामा नेपालबाट प्रशोधन गरिएको भटमासको तेल ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। यो निर्यात कुल निर्यात हिस्साको ३७.७७ प्रतिशत हो।
सनफ्लावरको बीउ र तेल ११ अर्ब ३३ करोड ८९ लाख, गलैंचा ९ अर्ब ७८ करोड १० लाख र अलैंची ७ अर्ब १९ करोड ७ लाख रुपैयाँको निर्यात भएको छ । यस् बस्तु पनि भटमासको तेल पछि सबैभन्दा धेरै निर्यात हुने बस्तुहरु हुन्। निर्यात बढ्दा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा समेत घटेको विभागको तथ्यांकले देखाएको छ।
गत आवको जेठ सम्म नेपालको वैदेशीक व्यापारमा निर्यातको हिस्सा ८.७४ र आयातको हिस्सा ९१.२६ प्रतिशत थियो । तर, चालु आवमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०८ र आयातको हिस्सा ८६.९२ प्रतिशत रहेको पाइएको छ ।
विभागका अनुसार पछिल्लो ११ महिनामा सबैभन्दा धेरै डिजेल आयातमा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ बाहिरिएको देखिएको छ। सोयाविन तेल आयातमा ९५ अर्ब ७२ करोड विदेशिएको छ। त्यसैगरी पेट्रोल आयातका लागि ५८ अर्ब ५८ करोड रुपैयाँ विदेशिएको छ।
एलपीजी ग्यास ५७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आएको छ। ३२ अर्ब ८ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको देखिएको छ। त्यसैगरी सनफ्लावर तेलको आयात २६ अर्ब ८७ करोड रुपैयाँ बराबरको भएको छ भने १७ अर्ब १२ करोड बराबरको सुन आयात भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment