कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर

डिसी नेपाल
१७ असार २०८२ ७:३४
32
Shares

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको र ११ वर्षदेखि प्रविधि क्षेत्रमा नवप्रवर्तनकारी समाधानहरू प्रदान गर्दै आएको आईटी कन्सल्टिङ कम्पनीले किरणलाई ३ वर्षका लागि सोमबार आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।

सम्झौता ३० लाख रुपैयाँ बराबरको रहेको उल्लेख गर्दै आइटी सुत्रले यो समझौताले प्रविधि र खेलकुद दुई क्षेत्रलाई जोडेको बताइएको छ।

कम्पनीको मुख्य उद्देश्य नेपाली प्राविधिक क्षमतालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु रहेकोले किरणको प्रतिबद्धता, अनुशासन र अन्तर्राष्ट्रिय छविले कम्पनीको मिसनलाई थप बल पुर्याउने विश्वास लिएको बताइएको छ।

कम्पनीका सिइओ पंकज श्रेष्ठले सहकार्यबारे भने, ‘किरण चेम्जोङ खेलकुदको मैदानमा मात्रै होइन, हरेक नेपाली युवाका लागि प्रेरणाको स्रोत हुन्। उनको अटल समर्पण र विश्वास कम्पनीको मूल्यमान्यतासँग मेल खान्छ। यो केवल एउटा व्यावसायिक सम्झौता मात्र नभई नेपाली प्रतिभालाई प्रविधि र खेलकुद दुवै क्षेत्रमा अगाडि बढाउने हाम्रो साझा प्रतिबद्धता हो।’

सिइओ श्रेष्ठले यो साझेदारीले आइटी सुत्रका आगामी ब्रान्ड अभियान, युवा लक्षित तालिम कार्यक्रम, डिजिटल प्रस्तुति र सामाजिक पहलमा किरणको सक्रिय भूमिका निश्चित गर्ने बताए।

आइटी सुत्र अमेरिकाको टेक्सासमा मुख्यालय रहेको एक आइटी परामर्श र स्टाफिङ कम्पनी हो। कम्पनीको सफलताको प्रमुख आधार अमेरिकाका प्रतिष्ठित कम्पनीहरूमा १२ सय भन्दा बढी नेपाली प्राविधिकलाई अवसर प्रदान गर्नु रहेको बताइएको छ।

किरण अहिले अमेरिका भ्रमणमा छन्। डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीको गोलपोस्ट सम्हाल्दै आएका किरण राष्ट्रिय टोलीबाट १ सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडीको हुन्।

उनले भारत र माल्दिभ्सबाट व्यवसायिक फुटबल खेलेका छन्। घरेलु फुटबलमा थ्री स्टार क्लब, मच्छिन्द्र क्लब तथा नेपाल सुपर लिग अन्तर्गत धनगढी एफसीबाट प्रतिनिधित्व गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *