कृषि सामग्री कम्पनी बिर्तामोडद्वारा २० हजार मेट्रिक टन मल बिक्री वितरण

डिसी नेपाल
१८ असार २०८२ १३:२३

भद्रपुर । कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१ /८२ को हालसम्ममा २० हजार चार सय ४९ दशमलव २० मेट्रिक टन रसायनिक मल बिक्री वितरण गरेको छ।

शाखाका प्रमुख दीपककुमार राजबंशीका अनुसार शाखालाई चालु आवमा प्राप्त १९ हजार ६ सय १९ दशमलव ५० मेट्रिक टन र गत वर्षको मौज्दात एक हजार पाँच सय ५० मेट्रिक टन रसायनिक मल रहेको थियो। उनका अनुसार हाल पनि रसायनिक मल आउने क्रम जारी रहेकाले यस वर्ष किसानलाई खेती गर्न मलको अभाव नहुने अपेक्षा गरिएको छ।

शाखा कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा युरिया १२ हजार १७ दशमलव ३५ मेट्रिक टन, डिएपी सात हजार पाँच सय ३८ दशमलव ५५ मेट्रिक टन, पोटास सात सय ८७ दशमलव ३५ मेट्रिक टन र चुन एक सय पाँच दशमलव ९५ मेट्रिक टन बिक्री वितरण गरिएको छ।

शाखाका प्रमुख राजबंशीका अनुसार युरीया प्रतिबोरा आठ सय आठ रुपयाँ ५० पैसा, डिएपी प्रतिबोरा दुई हजार दुई सय ५८ रुपयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार ६ सय ५८ रुपयाँ ५० पैसा र चुन प्रतिबोरा दुई सय १५ मा बिक्री वितरण भइरहेको छ।

हाल युरीया एक हजार एक सय मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजबंशीले बताए।

शाखा कार्यालयले यस वर्ष २१ मेट्रिक टन विभिन्न पाँच प्रजातीका धानको बीउ विक्री गरेको प्रमुख राजबंशीले जानकारी दिए। उनका अनुसार राधा १२, बहुगुणी २, हल्दीनाथ ६, स्वर्णसफ र रामधान जातको धानको बीउ वितरण गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *