त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा परिचय खुल्ने पोसाक लगाउन नपाइने

डिसी नेपाल
२६ असार २०८२ १४:१७
1.6k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोग गर्न नपाइने भएको छ।

अध्यागमन कार्यालयका अनुसार विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको हो।

नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीका लागि लागू हुने छ। अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न नपाइने भनेको हो।

यस्ता वस्तुले सम्भावित सुरक्षा जोखिम बढाउने र अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

कुनै विशेष समूह, सङ्गठन, ट्राभल एजेन्सी वा मेनपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याच वा अन्य कुनै पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण रोक लगाइएको छ।

यस्तो पहिरनले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको जनाइएको हो।

कार्यालयले यी नियमहरूको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गरिदिन सबैमा अनुरोधसमेत गरेको छ। नियमको उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.