राप्रपाको किचलो निर्वाचन आयोगसम्म, संस्थापन इतर पक्षबाट अध्यक्षलाई काउन्टर

डिसी नेपाल
२९ असार २०८२ १२:०९
176
Shares

काठमाडौं । राप्रपाका संस्थापन पक्ष र संस्थापन इतर पक्षबीचको विवाद चर्किंदै गएको छ । पार्टीको आन्तरिक विवाद चर्किंदै गएपछि निर्वाचन आयोगमै उजुरी गर्ने अवस्थाको सृजना भएको छ । पछिल्लो समय संस्थापन इतर पक्षले अध्यक्षले पार्टीको विधानविपरित निर्णय गरेको भन्दै आयोगमा उजुरी गर्ने तयारी गरिरहेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलाई हटाएपछि विवाद चर्किएको हो । संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका धवनसमशेर राणा पक्षले अध्यक्षले सोझै अनुशासन समितिका अध्यक्षलाई हटाउन नसक्ने तर्क गर्दै अध्यक्षको काम विधानविपरित भएको बताएको छ ।

इतर पक्षको दावीअनुसार अध्यक्षले अनुशासन समितिका अध्यक्षलाई एक्लै बर्खास्त गर्न सक्दैनन् । यसका लागि अध्यक्षले पार्टीको कार्यसम्पादन वा कार्यसमिति बैठकमा प्रस्ताव लगेर पारित गराउनुपर्ने व्यवस्था राप्रपाको संशोधित विधानमा रहेको इतर पक्षका नेताहरु बताउँछन् । लिङदेनले सुवेदीलाई हटाएर सोही समितिकी वरिष्ठ सदस्य रोशन कार्कीलाई नियुक्त गरेका छन् ।

संस्थापन पक्ष भने पार्टीको साधारण सदस्य समेत नरहेको घोषणा गरिसकेका कारण सुवेदी पार्टीमै नरहेकोले त्यो पद उनले स्वेच्छाले छाडेका कारण रिक्त भएको पदमा अध्यक्षले मनोनयन गरेको दावी गर्छ । सुवेदीले राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजक बनेपछि एक पत्रकार सम्मेलनमा आफू अब राप्रपाको साधारण सदस्य नरहेको घोषणा गरेका थिए । सुवेदीले लिखित राजीनामा भने बुझाएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.