तालबाराही मन्दिर पुनर्निर्माण सम्पन्न, घटस्थापनादेखि भक्तजनका लागि खुला
कास्की। पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणको मुख्य काम पूरा भएसँगै यही असोज २५ गते घटस्थापनादेखि मन्दिर भक्तजनका लागि खुला गरिने भएको छ।
फेवातालको बीचमा रहेको सानो टापुमा अवस्थित तालबाराही मन्दिरमा तालको किनारमा रहेको बाराहीघाटबाट डुङ्गा चढेर पुग्नुपर्छ। पुनर्निर्माणका क्रममा मन्दिरभित्र नियमित पूजाआजा बन्द रहेकाले नजिकैको हवनकुण्ड रहेको स्थानमा चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी पूजा हुँदै आएको थियो। अब पुनर्निर्माण सम्पन्न भएसँगै भक्तजनले मन्दिरभित्रै पुगेर नियमित पूजाआजा तथा दर्शन गर्न पाउने भएका छन्।
विसं २०७२ को विनाशकारी भूकम्पका कारण मन्दिर करिब तीन इन्च दक्षिणतर्फ ढल्किनुका साथै केही भाग दबिएपछि यसको संरचनामा जोखिम देखिएको थियो। पुरातत्व विभागको निर्देशन तथा समन्वयमा विसं २०८० कात्तिकदेखि मन्दिरको पुनर्निर्माण सुरु गरिएको थियो।
परम्परागत नेपाली मन्दिरको मौलिक पहिचान कायम राख्दै काठ, इँटा तथा अन्य सामग्री प्रयोग गरेर पुरानै स्वरुपलाई आधार बनाई मन्दिर पुनर्निर्माण गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष तथा पुजारी महेश्वर पहारीले बताए।
उनका अनुसार मन्दिर पुनर्निर्माणको मुख्य काम सबै सम्पन्न भइसकेको छ भने सामान्य रङरोगन तथा सजावटका केही काम मात्र बाँकी छन्। घटस्थापनाका दिन विधिवत् रूपमा पुनःपूजा गरी देवीको शक्ति पुरानो शिलामा सारिने उनले बताए।
“मन्दिर ढल्किँदा जोखिम सिर्जना भएको थियो। त्यसैले तीन वर्षअघि पुनर्निर्माण सुरु गरेका थियौँ। डेढ वर्षमा काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले केही ढिला भयो। घटस्थापनाको दिन विधिवत् रूपमा पुनःपूजा गरेर देवीको शक्ति पुरानो शिलामा सार्नेछौँ। अब भक्तजनले उल्लासपूर्वक पुरानै शिलामा दर्शन तथा पूजाआजा गर्न सक्नुहुन्छ,” पहारीले भने।
मन्दिरको मौलिक स्वरुप र परम्परागत वास्तुकला कायम हुने गरी पुनर्निर्माण गरिएको छ। प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरका लागि भक्तपुर र ललितपुरबाट दक्ष कालीगढ ल्याइएको थियो। मन्दिरमा तहगत छाना, काठका कलात्मक संरचना, परम्परागत झ्यालढोका तथा धार्मिक प्रतीकात्मक आकृतिको प्रयोग गरिएको छ।
फेवातालको बीचमा अवस्थित भएकाले तालबाराही मन्दिरमा धार्मिक आस्था र प्राकृतिक सौन्दर्य एकैसाथ अनुभव गर्न सकिन्छ। डुङ्गाबाट मन्दिरतर्फ जाँदा फेवातालको पानी, वरिपरिको हरियाली तथा हिमाली दृश्यले यसलाई धार्मिक गन्तव्यसँगै महत्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा स्थापित गरेको छ।
मन्दिर पुनर्निर्माणमा करिब रु एक करोड ५० लाख खर्च भएको पुजारी पहारीले जानकारी दिए। उनका अनुसार पुरातत्व विभागबाट रु छ लाख सहयोग प्राप्त भएको थियो भने बाँकी रकम भक्तजनबाट प्राप्त सहयोगमार्फत मन्दिर व्यवस्थापन समितिले जुटाएको हो।
तालबाराही मन्दिरको इतिहास निकै पुरानो मानिन्छ। कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले फेवातालको बीचमा रहेको ढिस्कोमा खरको झुप्रो बनाएर मन्दिर स्थापना गरेको जनश्रुति छ। स्थानीय धार्मिक मान्यताअनुसार मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहेको मानिन्छ।
प्राचीन समयमा माटोको ढिस्कोमा रहेको शिलालाई देवीका रूपमा पूजा गर्न थालिएको र पछि त्यही स्थानमा मन्दिर स्थापना गरिएको बताइन्छ। सामान्य झुप्रोको स्वरुपमा रहेको मन्दिरलाई तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा अहिलेको स्वरुपमा निर्माण गराएका थिए। त्यसपछि तालबाराही मन्दिर पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित हुँदै आएको छ।
पुनर्निर्माण सम्पन्न भएर घटस्थापनादेखि नियमित पूजाआजा सुरु भएपछि तालबाराहीमा स्वदेशी तथा विदेशी पर्यटक र भक्तजनको चाप बढ्ने अपेक्षा गरिएको छ। मन्दिर पुनर्निर्माणका कारण भक्तजनले नियमित रूपमा मन्दिरभित्र पूजा गर्न नपाउँदा डुङ्गा व्यवसायमा समेत प्रभाव परेको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले बताए।
“मन्दिर पुनर्निर्माण भइरहेकाले भक्तजनले नियमित रूपमा पूजा गर्न पाएका थिएनन्। त्यसको प्रभाव डुङ्गा व्यवसायमा पनि परेको थियो। अब मन्दिर सञ्चालनमा आएसँगै भक्तजन तथा पर्यटकको सङ्ख्या उल्लेख्य बढ्ने अपेक्षा गरेका छौँ,” गिरीले भने।
फेवातालको किनारबाट करिब पाँच मिनेट डुङ्गा यात्रापछि तालबाराही मन्दिर पुग्न सकिन्छ। मन्दिर रहेको क्षेत्र करिब तीन रोपनी आठ आना दुई दाममा फैलिएको छ। पुनर्निर्माण सम्पन्न भएसँगै धार्मिक आस्था र पर्यटन दुवैका दृष्टिले महत्वपूर्ण मानिएको तालबाराहीमा दसैँको सुरुवातसँगै भक्तजन तथा पर्यटकको चहलपहल थप बढ्ने अपेक्षा गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment