बाटो सहज भएपछि घान्द्रुकमा बढ्न थाल्यो पर्यटकको चहलपहल

डिसी नेपाल
२० असोज २०८३ ९:४४

पोखरा। बाढीपहिरोका कारण लामो समयदेखि प्रभावित बनेको कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा सडक सञ्चालनमा आएसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ। अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुक पुग्ने बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएपछि पर्यटक पुनः गाउँ पुग्न थालेका हुन्।

घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङले बाटो सहज भएसँगै गाउँमा पर्यटकको आवागमन सुरु भएको बताइन्। उनका अनुसार बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा असार, साउन र भदौमा घान्द्रुकको पर्यटन व्यवसाय लगभग शून्य अवस्थामा पुगेको थियो। अहिले चाडपर्वसँगै पर्यटकीय सिजन सुरु भएकाले व्यवसायमा सुधार आउने आशा जागेको उनले बताइन्।

“चाडपर्वसँगै पर्यटकको सिजन पनि सुरु भयो। बाटो पनि सहज भएको छ। असार, साउन र भदौमा पर्यटक शून्य नै थियो। अहिले विस्तारै आउन सुरु गरेका छन्। अब केही हुन्छ कि भन्ने आशा पलाएको छ,” उनले भनिन्।

होटल रक एण्ड मुडका सञ्चालक तथा रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले सडक खुलेको जानकारी देशभर पुर्‍याउन आवश्यक रहेको बताए। बाटो अझै खराब छ भन्ने बुझाइका कारण कतिपय पर्यटकले घान्द्रुक भ्रमणको योजना रद्द गरेको हुनसक्ने उनको भनाइ छ।

“पर्यटक आउन सुरु गरेका छन् तर अझै पनि धेरैलाई बाटो खराब छ भन्ने लागेको हुन सक्छ। धेरैले घान्द्रुकको बाटो बनेको छैन भनेर योजना रद्द गरेका हुन सक्छन्। अब बाटो सहज छ, ढुक्क भएर घुम्न आउनुहोस् भन्ने सन्देश प्रवाह गर्नुपर्छ,” उनले भने।

निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा खसेका पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएपछि पर्यटकको आवागमन सुरु भए पनि अपेक्षाअनुसार व्यवसाय चलायमान हुन नसकेको उनले बताए। अघिल्ला वर्षको तुलनामा यसपटक पर्यटकको सङ्ख्या निकै कम रहेको उनको भनाइ छ।

उनका अनुसार होटलमा ४५ जनासम्म राख्न सक्ने क्षमता भए पनि अहिले दैनिक पाँचदेखि सात जना मात्रै पर्यटक आउने गरेका छन्। अघिल्ला वर्षमा यही समयमा होटल भरिभराउ हुने गरेको उनले बताए।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बाटो र मौसम दुवै सहज भएपछि घान्द्रुकको पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेको बताए। अहिले दैनिक दुईदेखि तीन सय पर्यटक घान्द्रुक पुग्ने गरेको उनले जानकारी दिए।

“यो बेला पर्यटक आउने समय नै हो। यही समयमा बाटो बिग्रँदा निकै चिन्ता लागेको थियो। सबैको पहलमा बाटो बनाएपछि पाहुना आउन थालेका छन्। पहिला यही समयमा बस्ने ठाउँ नपुगेर पाहुना फर्काउनुपर्ने अवस्था थियो। यो वर्ष पनि विस्तारै पर्यटक बढ्ने क्रम जारी छ,” उनले भने।

अध्यक्ष गुरुङले घान्द्रुक पुग्ने सडक सहज भइसकेको जानकारी पर्यटकसम्म पुर्‍याउन आवश्यक रहेको बताए। निरन्तरको वर्षाका कारण सडक अवरुद्ध भएको जानकारी पाए पनि सडक खुलेकोबारे धेरैलाई थाहा नभएको हुनसक्ने उनको भनाइ छ।

“यो समय सबैभन्दा बढी नेपाली पाहुना आउने समय हो। निरन्तर वर्षा हुँदा बाटो अवरुद्ध भएको थाहा भए पनि खुलेको थाहा नहुन सक्छ। त्यसैले घान्द्रुकवासीको एउटै आग्रह छ—मौसमसँगै बाटो पनि खुलेको छ। निर्धक्क भएर घुम्न आउनुहोस्, हामी स्वागत गर्न तयार छौँ,” उनले भने।

घान्द्रुकमा हाल ९५ वटा होटल र ४५ वटा होमस्टे सञ्चालनमा रहेका छन्। यी होटल तथा होमस्टेमा दैनिक करिब दुई हजार पाँच सय पाहुना राख्न सक्ने क्षमता रहेको पर्यटन व्यवस्थापन समितिले जनाएको छ। पर्यटकको सङ्ख्या बढेमा स्थानीय घरमै समेत थप व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताए।

“घान्द्रुकमा अहिले ९५ वटा होटल र ४५ वटा होमस्टे छन्। यी होटल तथा होमस्टेमा एक दिनमा दुई हजार पाँच सय पाहुना राख्न सकिन्छ। पाहुना धेरै भएको अवस्थामा व्यक्तिगत घरमा पनि व्यवस्थापन गर्न सकिन्छ। गाउँमा आएको पाहुनालाई फर्काउन नपरोस् भन्ने हाम्रो मान्यता हो,” उनले भने।

सडक सहज बनेसँगै घान्द्रुकको पर्यटन व्यवसायले गति लिने स्थानीय व्यवसायीको अपेक्षा छ। दशैँ–तिहारको चाडपर्व र पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने र लामो समयदेखि प्रभावित पर्यटन व्यवसाय पुरानै लयमा फर्किने उनीहरूको विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *