म्याग्दीको रेलेखोला जलविद्युत् आयोजनामा बाढीको वितण्डा: बाँध र पहुँचमार्गमा क्षति पुगेपछि उत्पादन ठप्प

डिसी नेपाल
१६ असोज २०८३ ६:४६

म्याग्दी।  बाँधस्थलमा बाढी पसेर क्षति पुर्‍याएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित रेलेखोला जलविद्युत् आयोजनाबाट हुने विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ।

ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको ६ मेगावाट क्षमताको यस आयोजनाको रेलेखर्क फेदीमा रहेको बाँधमा बाढी पसेपछि विद्युत् उत्पादन ठप्प भएको हो। आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल झरी, बाढी र पहिरोका कारण आयोजनामा ठूलो क्षति पुगेको छ।

रेलेखर्क क्षेत्रमा गएको पहिरोले रेलेखोलामा बाढीको सतह अत्यधिक बढेको र बाँधमा ठूलो मात्रामा गेग्रान तथा गेढाथुप्रिएको छ। भौगोलिक रूपमा अत्यन्तै दुर्गम र विकट क्षेत्रमा रहेको बाँधस्थलसम्म पुग्ने पहुँचमार्गसमेत पहिरोले अवरुद्ध पारेकाले तत्काल बाढी पन्छाएर आयोजना पुनः सञ्चालन गर्न कठिन भएको छ।

बाँधका भौतिक संरचनामा क्षति पुगेपछि उत्पादन रोकिँदा आयोजनाले दैनिक ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।

गत वर्ष मात्र निर्माण सम्पन्न भएको यस आयोजनाबाट उत्पादित विद्युत् २२० केभी क्षमताको दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। कालीगण्डकीमा आएको बाढी र पहिरोले प्रसारण लाइनका टावर ढाल्नुका साथै तार चुँडाएर क्षति पुर्‍याएपछि विद्युत् प्रवाहमा थप समस्या उत्पन्न भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *