बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी क्षेत्रमा रहेका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललाई जोडेर ‘बुद्ध–परिपथ’ विकास गरिने भएको छ। ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई एउटै पर्यटकीय मार्गका रूपमा जोड्ने गरी परिपथ निर्माणको योजना अघि बढाइएको हो।
उक्त परियोजनाका लागि सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेको छ। क्रमागत बजेटमार्फत आवश्यक पूर्वाधार निर्माण गर्दै परियोजना सम्पन्न गर्ने योजना रहेको काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंले बताएका छन्।
परियोजनाको पहिलो चरणमा रु १० करोड खर्च गरिनेछ। पहिलो चरणअन्तर्गत पनौतीको डबलीदेखि नमोबुद्धसम्मको करिब आठ किलोमिटर सडकलाई बुद्धसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक सम्पदाले आकर्षक बनाइनेछ। सडकको दायाँबायाँ विभिन्न स्थानमा माने, चैत्य, लाफिङ बुद्धका प्रतिमा तथा थान्का लगायतका संरचना निर्माण गर्नुका साथै पर्यटकलाई जानकारी दिने बोर्डसमेत राखिनेछ।
सांसद चौलागाईंका अनुसार हाल सञ्चालनमा रहेका सडकलाई नै ‘बुद्ध–परिपथ’का रूपमा विकास गर्ने अवधारणा अघि सारिएको हो। यसका लागि गुरुयोजना तयार भइसकेको छ। पनौतीदेखि नमोबुद्धसम्मको सडकलाई बुद्धसँग सम्बन्धित सम्पदा र सांस्कृतिक संरचनाले भरिपूर्ण बनाई आकर्षक पर्यटकीय मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
बुद्ध–परिपथअन्तर्गत नमोबुद्ध–भकुण्डे सडकखण्डमा पर्ने दाप्चास्थित बोक्से सामुदायिक वनमा रतुवा मृग पार्क निर्माण गर्ने योजना पनि अघि बढाइएको छ। पार्क निर्माणका लागि स्थान छनोट भइसकेको र बागमती प्रदेशको वन मन्त्रालयमा योजना स्वीकृतिको प्रक्रिया अघि बढेको सांसद चौलागाईंले जानकारी दिएका छन्।
“मृग पार्कका लागि स्थान छनोट भइसकेको छ र प्रदेश सरकार पनि सकारात्मक छ”, उनले भने।
त्यसैगरी, बिपी राजमार्गअन्तर्गत भकुण्डेबेँसीको चारदोबाटोमा ‘सांस्कृतिक सङ्गम गेट’ निर्माण गरिने भएको छ। चारैतर्फबाट देखिने गरी निर्माण गरिने उक्त गेटमा विभिन्न धर्म तथा संस्कृतिका प्रतीक र सन्देशमूलक आकृति समावेश गरिने जनाइएको छ।
नमोबुद्धदेखि भकुण्डेबेँसी हुँदै तेमालसम्मको करिब २५ किलोमिटर सडकखण्डलाई पनि बुद्ध–परिपथकै अवधारणाअनुसार विकास गरिनेछ। सडकको दायाँबायाँ बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण गरिनेछ भने विभिन्न स्थानमा माने, चैत्य, लाफिङ बुद्धका प्रतिमा तथा थान्कासहितका जानकारीमूलक बोर्ड राखिनेछन्।
तेमालको याङबेलमा भने गुरु रेन्पोछेको विशाल मूर्ति निर्माण गर्ने योजना रहेको छ। यसका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको सांसद चौलागाईंले बताएका छन्।
याङबेलमा ‘बुद्ध पार्क’ निर्माण गरी विश्वकै ठूलो गुरु रेन्पोछेको मूर्तिसहित बुद्धको विशाल मूर्ति र विभिन्न बुद्ध आकृति निर्माण गर्ने योजना छ। पार्कमा घण्टाघर, बच्चासहितको बाघको प्रतिमा, शान्ति चैत्य, थान्का लेखन विद्यालय तथा पार्किङस्थल निर्माण गर्ने प्रस्तावसमेत रहेको जनाइएको छ।
तेमालमा थान्का शिक्षालय स्थापना भएपछि स्थानीयवासीलाई थान्का लेखन सिक्न अन्य सहर जानुपर्ने बाध्यता हट्ने सांसद चौलागाईंको भनाइ छ।
“तेमालमा थान्का शिक्षालय सञ्चालन भएपछि सहर धाउनुपर्ने बाध्यता हट्नेछ। यहीँ बसेर सिक्ने र अरूलाई पनि थान्का लेखन सिकाउनेछन्। थान्कामार्फत तेमाललाई देशी–विदेशीसामु चिनाइनेछ”, उनले भने।
ऐतिहासिक तथा धार्मिक महत्वका कारण पनौती, नमोबुद्ध र तेमाललाई एउटै पर्यटकीय परिपथमा जोड्ने योजनाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
इतिहासविद्का अनुसार राजा प्रताप मल्लले वि.सं. १७२७ मा रानीपोखरी निर्माण गरेपछि विभिन्न तीर्थस्थलबाट जल ल्याएर राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखिएको शिलालेखमा उल्लेख छ। तीन नदीको सङ्गमस्थलका रूपमा परिचित त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाका साथै पद्मावती नदी गुप्तरूपमा बग्ने धार्मिक विश्वास रहिआएको छ।
भारतको प्रयागमा गङ्गा र यमुनाको सङ्गममा गुप्तरूपमा सरस्वती नदी मिसिएझैँ पनौतीमा रोशीलाई रुद्रावती, पुण्यमातालाई लीलावती र ब्रह्मायणी मन्दिरमुनिबाट गुप्तरूपमा बग्ने नदीलाई पद्मावती मान्ने धार्मिक मान्यता छ।
नमोबुद्ध गौतम बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रूपमा परिचित धार्मिक तथा पर्यटकीयस्थल हो। यहाँ लामा तथा महायानी गुम्बा, ढुङ्गाबाट निर्मित ठूला बुद्धमूर्ति तथा विभिन्न चैत्य रहेका छन्।
नमोबुद्धसँग सम्बन्धित किंवदन्तीअनुसार तत्कालीन पञ्चलादेश अर्थात् पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमारले गन्धमान पर्वतको जङ्गलमा शिकार खेल्ने क्रममा भोकले छटपटाइरहेको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काटेर खुवाउँदै देहत्याग गरेका थिए। राजकुमारको त्यागबाट बघिनीले जीवनदान पाएको धार्मिक विश्वास छ।
त्यस्तै, तेमाललाई तामाङ इतिहास, सभ्यता र संस्कृतिसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा लिइन्छ। ‘तामाङ इतिहास र सभ्यता खोज्नु छ भने तेमाल जानू’ भन्ने आख्यानले पनि यस क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्छ।
नेपाल एकीकरणअघिको समयमा रिञ्जेन दोर्जे बलको शासन रहेको बेला भारतबाट तिब्बत जाने क्रममा गुरु पद्मसम्भवले तेमालमा ध्यान गरी सिद्धता प्राप्त गरेको इतिहास रहेको बताइन्छ। तेमालको इतिहास, सभ्यता र संस्कृतिलाई झल्काउने विभिन्न संरचना तथा आकृति यस क्षेत्रमा निर्माण गरिएका छन्।
पनौती, नमोबुद्ध र तेमालका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक विशेषतालाई एउटै मार्गमा समेटेर पूर्वाधार विकास गर्न लागिएको ‘बुद्ध–परिपथ’ले स्थानीय पर्यटनसँगै धार्मिक तथा सांस्कृतिक पर्यटनलाई समेत विस्तार गर्ने लक्ष्य लिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment